मृत्यु प्रकरणमा पञ्चदेवल विनायककी मेयर चलाउने पक्राउ

न्युजलय १९ असार २०७९, आइतबार ०९:४० मा प्रकाशित

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने पक्राउ परेकी छन् । 


पञ्चदेवल विनायक नगरपालिका ४ का १५ वर्षका विनोद शाहीको मृत्युको आरोपमा नवनिर्वाचित मेयर चलाउनेलाई सरकारी वकिलको कार्यालयमा राखिएको छ । मेयर चलाउने हिजो शनिबार आफैँ प्रहरी कार्यालय पुगेको अछाम जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीले जानकारी दिए । मेयरसँगै अर्का एक जना आरोपी पनि प्रहरी कार्यालय पुगेका छन् । 


मेयर चलाउने र अर्का एक जनासहित अहिलेसम्म यो मुद्दामा सात जना पक्राउ परिसकेका छन् । गत वैशाख १७ गते बेपत्ता भएका पञ्चदेवल विनायक नगरपालिकाका शाहीको शव २० गते भेटिएको थियो । जेठ २६ गते शाहीका परिवार र आफन्तले नवनिर्वाचित मेयर चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । 


नेकपा एमालेले शाहीको हत्या प्रहरी प्रशासनको बलमा नेपाली कांग्रेसका कार्यकर्ताबाट भएको आरोप लगाएको छ । कांग्रेसले भने त्यो आरोपको खण्डन गरेको छ ।