इटहरी । तपाईलाई फोटोसप चलाउन अलिअलि आउँछ, तर डिजाइनहरु गर्न मन छ वा आफ्नो व्यक्तिगत तथा संस्थागत प्रयोजनका लागि केही डिजाइन गर्नुपर्ने छ भने एउटा उपाय तपाईसँग छ । तपाईको लागि टेम्प्लेट उपलब्ध छन्, जसलाई तपाई सामान्य इडिट गरेर प्रयोग गर्न सक्नुहुनेछ ।
कसैलाई शुभकामना दिने शुभकामना कार्ड, कार्यक्रमको ब्यानर र प्रमाणपत्रहरु, सामाजिक सञ्जालमा पोष्ट गर्ने विज्ञापनहरु लगायत धेरै प्रकारका डिजाइनहरु पाइने वेव साइट हो, ग्राफिक्स सेल नेपाल डटकम ।
ग्राफिक सेल नेपालले आफ्नो साइटमा विभिन्न डिजाइन टेम्प्लेट राखेको छ । आफुलाई मन परेको टेम्प्लेट खरिद गरेर फोटोसपमा सजिलै इडिट गर्न सकिन्छ । फोटोसपको सामान्य प्रयोग गर्न जानेका प्रयोगकर्ताले समेत इडिट गर्न सक्ने गरी फाइललाई पीएसडी र टीआईएफ फर्म्याटमा राखिएको ग्राफिक सेल नेपालका संस्थापक निरज निरौलाले बताए ।
नेपालमा ग्राफिक डिजाइनहरू धेरै भएपनि अनलाइनबाटै ग्राफिक डिजाइनको इडिटेबल फाइल उपलब्ध गराउने ग्राफिक सेल नेपाल डटकम एकमात्र प्लेटफर्म भएको कम्पनीको दावी छ । ग्राफिक्स सेल नेपालले फोटो स्टुडियालाई लक्षित गर्दै १ हजारदेखि १५ हजारसम्मको प्याकेजसमेत ल्याएको छ । प्याकेजमा निःशुल्क सपोर्टदेखि प्रिमियम फण्ड, दैनिक डिजाइन जस्ता सुविधा छन् ।
प्याकेज बाहेक आफुलाई आवश्यक परेको फाइल टेम्प्लेट मात्रै पनि खरिद गर्न सकिन्छ । एउटा टेम्प्लेटको मूल्य ९९ रूपैयाँ तोकिएको छ । यो वेवसाइट सामान्य डिजाइनरलाई मात्र होइन, फ्लेक्स प्रिन्ट, डेक्स्टप सेन्टर, मिडियाहरुलाईसमेत निकै उपयोगी भएको अर्का संस्थापक रेनु घिमिरेले बताइन् । यसको प्रयोगले पुरै डिजाइन गर्ने समय घटाउँछ भने डिजाइनरलाई दिनुपर्ने धेरै पैसासमेत बचत हुन्छ ।
यसमा आईडी कार्ड, प्रमाणपत्र, फ्लेक्स डिजाइन, कन्सल्टेन्सी, भिजिटिङ कार्ड, वेडिङ, वेब ब्यानर, चाडपर्व, निमन्त्रणा, चुनाव, लोगो, समवेदना, भनाइ, फोटो फ्रेम, एजुकेसन लगायतका विभिन्न क्षेत्रका ग्राफिक डिजाइन टेम्प्लेट उपलब्ध रहेको छ ।
ग्राफिक सेल नेपालबाट अहिले १० हजार बढीले सेवा लिइरहेका छन् । र यो संख्या बढ्दो रहेको उनी बताउँछन् । सेवाग्राहीका आवश्यकतालाई ध्यानमा राखेर विभिन्न डिजाइनहरु निरन्तर थप्ने गरेको उनी बताउँछन् ।