झापामा काँचो केरामै विषादीको मात्रा भेटियो

न्युजलय २६ भदौ २०८१, बुधबार १२:२४ मा प्रकाशित

 झापा । विर्तामोडस्थित कृषि थोक बजारमा बिक्रीका लागि किसानले ल्याएको काँचो केरामा उपभोग अयोग्य पुष्टि हुनेगरी विषादीको मात्रा भेटिएको छ । 

कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत विर्तामोडमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइमा आज बिहान इलामको दानाबारीका किसान कमल मगरले ल्याएको ७० घरी काँचो केराको तीन नमुना परीक्षण गरिएको थियो ।

ती नमुनामध्ये दुई नमुनामा कार्बामेट कीटनाशक विषादीको उच्च मात्रा फेला परेको प्रयोगशालाका प्रमुख  अम्बिका बोहोराले बताए । उनका अनुसार काँचो केराको दुई नमुनामा कार्बामेटको रोकावट प्रतिशत ५२.८५ र ५३.११ पुष्टि भएको छ । अर्को एक नमुनामा भने ४४.७६ प्रतिशत कार्बामेट भेटिएको छ ।

तरकारी तथा फलफूलमा कार्बामेटको रोकावट प्रतिशत ४५ भन्दा उच्च फेला परेमा उपभोग अयोग्य ठहरिने हुँदा त्यसलाई विसर्जन गरिनुपर्ने प्राविधिक बोहोराले बताए ।