सुन्दरहरैँचामा श्रीमानले गरे श्रीमतीको हत्या

न्युजलय २८ साउन २०८१, सोमबार १२:१७ मा प्रकाशित

मोरङ । मोरङमा जग्गा विवादका कारण आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन् । 

सुन्दरहरैँचा नगरपालिका १० बाघझोडाका ५८ वर्षीय लक्ष्मण नेपालले आफ्नै श्रीमती ४१ वर्षीया पवित्रा फुयाँल नेपालको हत्या गरेका हुन् ।

उनले आइतबार खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको मोरङ प्रहरीले जानकारी दिएको छ  ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी पवित्रालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएपनि उपचारका क्रममा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अुसार अंश विवादका कारण पवित्राको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीकाअनुसार श्रीमान–श्रीमतीले नै यसअघि अदालतमा एकअर्काविरुद्ध मुद्दासमेत हालेका थिए । पछि मिलापत्र भएको थियो ।

प्रहरीका अनुसार श्रीमानले १६ धुर जग्गा किनेर श्रीमतीको नाममा पास गरिदिएका थिए । दुई जनाबीच झगडा भएपछि पवित्रा वैशाखदेखि माइततिर गएर बस्न थालेकी थिइन् । त्यसपछि लक्ष्मणले अदालतमा जग्गा रोक्का सम्बन्धी मुद्दा हालेका थिए ।

पवित्राले पनि सम्बन्धविच्छेद, घरेलु हिंसा र मानोचामल सम्बन्धी मुद्दा दर्ता गरेको पाइएको छ । प्रहरीका अनुसार अदालतले दुवै जनालाई छलफलमा बोलाएर मुद्दामा मिलापत्र गराएको खुलेको छ ।

माइतीमा बसिरहेकी पवित्रालाई अब मिलेर बस्नुपर्छ भन्दै लक्ष्मणले घरमा बोलाएर हत्या गरेको पाइएको प्रहरीको  भनाइ छ । पत्नीको हत्यामा संलग्न लक्ष्मण खुकुरीसहित पक्राउ परेका छन् ।

लक्ष्मणविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइने र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।