सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी

न्युजलय १४ बैशाख २०८१, शुक्रबार ०१:४८ मा प्रकाशित

मलेखु । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– १ रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले चार पाङ्ग्रे विद्युत्तीय गाडी निर्माण गरेका छन् । कक्षा १० मा अध्ययनरत सौरभ बसौला र सुशील अधिकारीले विद्युतीय गाडी निर्माण गरेका हुन् ।

दुई सय किलोभन्दा बढी भार बोकेर गुड्न सक्ने गाडी दुई साता लगाएर तयार पारिएको निर्माणमा संलग्न विद्यार्थी बसौलाले बताए ।

‘कक्षा कोठामा विज्ञान शिक्षकले विद्युतीय गाडीको बारेमा जानकारी दिनुभयो, त्यसपछि गाडी निर्माण गर्न सकिन्छ भन्ने लाग्यो । अनि दुवै जना मिलेर गाडी बनाएका हौँ’, अर्का विद्यार्थी अधिकारीले भने, ‘हामीले कवाडी बनेका गाडीका पार्टपुर्जा प्रयोग गरेर गाडी निर्माण गरेका हौँ ।’

केही किनेर र केही स्थानीयरुपमा प्राप्त सामग्री प्रयोग गरेर गाडी तयार गरिएको हो । गाडीको क्षमता चालकसहित तीन जना अट्ने रहेको छ ।

दुई सय ५० वाटको दुई मोटर र १२ भोल्टको दुई ब्याट्री जडान गरिएको सो गाडीलाई एक पटक चार्ज गरेपछि तेर्सो बाटोमा दुई घण्टासम्म गुडाउन सकिन्छ । जति बढी भोल्टको ब्याट्री जडान गर्यो त्यति नै बढी भार बोक्न सकिने निर्माणमा संलग्न विद्यार्थीको भनाइ छ ।