विराटनगर । भारतबाट आएका जंगली हात्तीले आतंक मचाउन थालेपछि मोरङको बेलबारी नगरपालिकाले ड्रोनबाट गस्ती सुरु गरेको छ ।
सुरुमा बेलबारी नगरपालिकाले एम्बुलेन्स र दमकलको साइरन बजाएर हात्ती भगाइरहेको थियो । तर साइरनबाट हात्ती भाग्न छाडेपछि ड्रोन प्रयोग गरिएको बेलबारी नगरपालिकाले जानकारी दिएको छ ।
करिब डेढ महिनाअघि भारतबाट झापाको बाहुनडाँगी हुँदै छिरेको हात्तीको बथानले झापा, मोरङ र सुनसरीमा जंगल आसपासका बस्तीमा आतंक सृजना गरेको छ । स्थानीयले लगाएको बाली पनि हात्तीले नष्ट गरिरहेको छ ।
अनिल प्रधानसहितको टोलीले साइरन जडान गरिएको ड्रोनबाट हात्ती धपाइरहेका छन् । साइरन जडान गरिएको ड्रोनले हात्ती भगाउन सजिलो पनि भएको छ । उनका अनुसार साइरन र मौरीको भुनभुनको आवाजलाई ड्रोनमा जडान गरिएको छ ।
हात्तीको नजिकै लगेर आवाज बजाएपछि हात्ती जुन बाटो आएको हो त्यही बाटो भाग्ने गरेको प्रधानले बताए । ड्रोनबाट बस्ती र बालीनालीमा पस्ने हात्ती धपाउन सजिलो हुने उनको अनुभव छ ।