विश्वकप फुटबलमा जापान कोस्टारिकासँग पराजित

न्युजलय १२ मङ्सिर २०७९, सोमबार ०१:१३ मा प्रकाशित

काठमाडौँ । कतारमा जारी विश्वकप फुटबलमा एसियाली राष्ट्र जापान कोस्टारिकासँग पराजित भएको छ । ल्याटिन अमेरिकी राष्ट्र कोस्टारिकाले जापानलाई १–० गोलअन्तरले पराजित गरेको हो ।


कतारको अहमद इब्न अली स्टेडियममा भएको खेलमा कोस्टारिकाका लागि कैसर फुल्लरले ८१ औँ मिनेटमा गोल गरे ।


यससँगै समूह ‘ई’ मा कोस्टारिकाले महत्वपूर्ण ३ अंक जोडेको छ । यस समूहमा ३ अंकका साथ स्पेन गोल अन्तरका आधारमा शीर्ष स्थानमा रहेको छ । समान ३ अंक रहेका जापान र कोस्टारिका गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।


यस समूहको यसअघिको खेलमा जापानले जर्मनीलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । त्यसैगरी कोस्टारिका स्पेनसँग ७–० गोलअन्तरले पराजित भएको थियो ।