धरान । धरानमा भन्सार छली गरी ल्याइएका किराना तथा खाद्यान्न सामग्रीसहित तीन जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूका साथबाट करिब नौ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको जनाएको छ ।
इटहरीबाट धरानतर्फ आउँदै गरेको को २ ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका सामान फेला परेका थिए । इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी तीनकुनेबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले ट्रक जाँच गर्ने क्रममा सामानसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–४ का २५ वर्षीय चालक प्रदीपकुमार साह, जहदा गाउँपालिका–१ का ४२ वर्षीय भूपेन्द्र राजवंशी र सोही ठाउँका कात्तिक राजवंशी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बरामद सामान, मिनी ट्रक र पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।