‘भ्यालेन्टाइन डे’मा विदेशबाट गुलाबको फूल ल्याउन रोक

न्युजलय २७ माघ २०७९, शुक्रबार ०८:०३ मा प्रकाशित

काठमाडौं। सरकारले विदेशबाट गुलाबको फूल ल्याउन रोक लगाएको छ। ‘भ्यालेन्टाइन डे’नजिकिँदै गर्दा सरकारले नेपाल, भारत तथा चीन सीमाका १५ भन्सार कार्यालयका कार्यालयहरूलाई पत्राचार गर्दै विशेष कारण भन्दै गुलाबको फूल आयातमा रोक लगाएको हो।

‘भ्यालेन्टाइन डे’ आसपासमा नेपालमा झन्डै तीन लाख पिस (स्टिक) गुलाबको फूलको खपत हुने गरेको छ। तर, नेपालमा झन्डै २० हजार पिस मात्रै गुलाबको फूल उत्पादन हुने गरेको छ।

बाँकी २ लाख ८० हजार पीस विदेशबाटै आयातकोभर पर्नुपर्ने छ। अब सरकारको निर्णयसँगै बजारमा फूल अभाव हुने भएको छ। कोरोना महामारीका कारण आन्तरिक उत्पादन घटेकोले अन्य मुलुकबाट आयात गरिँदै आएको थियो।

कृषि मन्त्रालयले सूचना जारी गर्दै गुलाबको फूल आयात अनुमति रोक्का गर्ने निर्णय गरेको जनाएको हो। बिहीबार एक सूचना जारी गर्दै मन्त्रालय मातहतको प्लान्ट क्वरेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले मातहतका नाका कार्यालयहरूलाई आयात अनुमति जारी नगर्न भनेको हो।

यो सूचनासँगै पूर्वको काँकडभिट्टादेखि पश्चिमको गड्डा चौकी र उत्तरका कुनै पनि निकाबाट गुलाब आयात गर्न पाइने छैन। भन्सार विभागको विवरणअनुसार आर्थिक वर्षको पुससम्म नेपालले १३ लाख ३३ हजार रुपैयाँ बराबरको १० हजार ६१२ किलो गुलाबको फूल आयात गरेको छ।

नेपाल फ्लोरिकल्चर एसोसिएसनका कार्यक्रम संयोजक जेबी तामाङले सरकारको निर्णय बजारमा अब अभाव हुनसक्ने बताए । एसोसिएसनकाअनुसार प्रणय दिवस आसपासमा नेपालमा झन्डै तीन लाख पिस (स्टिक) गुलाबको फूलको खपत हुन्छ । नेपालमा झन्डै २० हजार पिस मात्रै गुलाबको फूल उत्पादन हुने उनले बताए।

उपत्यकाभित्र १ लाख ६८ हजार र उपत्यकाबाहिर १ लाख १२ हजार स्टिक गुलाबका फूल खपत हुँदै आएको छ।

यस वर्ष प्रतिस्टिक गुलाबका फूलको मूल्य ८० रुपैयाँदेखि १२० रुपैयाँसम्म पर्ने एसोसिएसनले जनाएको छ। गत वर्ष २ लाख ७ हजार गुलाबका फूल खपत भएको थियो भने प्रतिस्टिक गुलाबका फूलको मूल्य ८० रुपैयाँदेखि १०० रुपैयाँमा कारोबार भएको थियो।