धनकुटामा विंगर दुर्घटना हुँदा सुन्दरहरैँचाकी ढुंगेलको मृत्यु

न्युजलय ४ जेठ २०८३, सोमबार ०४:०३ मा प्रकाशित

धनकुटा । धनकुटामा यात्रुवाहक विंगर गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

निर्माणाधीन तमोर करिडोरअन्तर्गत चौबिसे गाउँपालिका–४ बिजीटारमा प्रदेश १–०१–००१ ज ३९४९ नम्बरको विंगर गाडी दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार इटहरीबाट पाँचथरतर्फ जाँदै गरेको उक्त गाडी दुर्घटनामा पर्दा मोरङको सुन्दरहरैँचा नगरपालिका–६ की ४० वर्षीया सावित्रा ढुंगेलको मृत्यु भएको हो ।

दुर्घटनापछि गाडीले च्यापेको अवस्थामा ढुंगेललाई फेला पारिएको प्रहरीले जनाएको छ । उद्धार गरेर बाहिर निकाल्दा उनको मृत्यु भइसकेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा गाडी चालक पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ का अन्दाजी २८ वर्षीय तेजकुमार तेम्जोङ र ताप्लेजुङको फुङलिङ नगरपालिका–८ का अन्दाजी २२ वर्षीय दिपेन रसाइली घाइते भएका छन् ।

घाइते दुवै जनालाई उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।