नेयमार चम्किँदा ब्राजिलको शानदार जीत

न्युजलय २० जेठ २०७९, शुक्रबार ०१:१८ मा प्रकाशित

एजेन्सी । मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिलले दक्षिण कोरियालाई हराएको छ । दक्षिण कोरियामा भएको खेलमा ब्राजिलले घरेलु टोलीलाई ५–१ गोल अन्तरले हराएको हो ।

ब्राजिलको जितमा नेयमारले दुई गोल गरे । ती दुवै गोल पेनाल्टीमा सम्भव भएका थिए ।

खेलमा अग्रता ब्राजिलले सातौं मिनेटमा रिचरलिसनको गोलमा लिएको थियो । घरेलु टोलीले ३१ औं मिनेटमा बराबरी गोल फकायो । ह्वाङ हि चेनले दक्षिण कोरियाका लागि बराबरी गोल गरेका थिए ।

नेयमारले ४२ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै ब्राजिललाई पहिलो हाफमा २–१ ले अघि बढाए ।

दोस्रो हाफको ५७ औं मिनेटमा नेयमारले पेनाल्टीमै गोल गर्दै ब्राजिललाई ३–१ ले अघि बढाए । फिलिप कौटिन्होले ८० औं मिनेटमा ब्राजिलका लागि चौथो गोल गरे ।  

दोस्रो हाफको इन्जुरी समयमा जिसस ग्याब्रियलले गोल गर्दै दक्षिण अमेरिकी देशलाई फराकिलो जीत दिलाए ।