इटहरीमा साढे ६१ प्रतिशत् मात्रै राजस्व संकलन, धरानमा लक्ष्यको २९ दशमलव ३५ प्रतिशत् मात्रै

शंकर खत्री २ मङ्सिर २०७८, बिहिबार १२:४७ मा प्रकाशित

इटहरी । प्रदेश १ का दुई उपमहानगरले लक्ष्यभन्दा कम राजस्व संकलन गरेका छन् । गत आर्थिक वर्ष अर्थात् आ.ब २०७७/०७८ मा दुई उपमहानगरले आफैँले निर्धारण गरेको लक्ष्य भेटाउन नसकेका हुन् । 


इटहरी उपमहानगरले सो आर्थिक वर्षमा ३५ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, उपमहानगरले लक्ष्यको साढे ६१ प्रतिशत् अर्थात २१ करोड ५० लाख मात्रै राजस्व संकलन गरेको हो । कोरोना महामारीका कारण लक्ष्य भन्दा कम राजस्व संकलन भएको उपमहानगरका कर शाखा प्रमुख नविन भट्टराईले जानकारी दिए । उपमहानगरले करमा नागरिकलाई प्रोत्साहन गर्न छुट दिएका कारण पनि लक्ष्य अनुसारको राजस्व संकलन नभएको उनि बताउँछन् ।


यता धरान उपमहानगरले त लक्ष्यको २९ दशमलव ३५ प्रतिशत् मात्रै राजस्व संकलन गरेको छ । उपमहानगरले आ।ब २०७७/०७८ मा ५६ करोड १२ लाख ४४ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, १६ करोड ४७ लाख ३० हजार ४६१ रुपैँया मात्रै राजस्व संकलन गरेको उपमानगरका वरिष्ठ राजश्व, सूचना तथा पर्यटन अधिकृत खगेन्द्र खतिवडाले जानकारी दिए । उपमहानगरले विभिन्न २४ वटा करबाट १८ करोड २३ लाख ७५ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १६ करोड ४६ लाख ९६ हजार ४२४ रुपैयाँ मात्रै राजस्व संकलन भएको उनले जानकारी दिए । 


यस्तै उपमहानगरले अन्य संस्थागत अनुदान, बीमादावी प्राप्ति, अन्य राजस्व, बेरुजु, निकासा र धरान खानेपानी व्यवस्थापन बोर्ड लगायतका शिर्षकबाट ३७ करोड ८८ लाख ६९ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा त्यसको शून्य दशमलव एक प्रतिशत् अर्थात् ३४ हजार ३७ रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ । उपमहानगरले अन्य राजस्व र बेरुजुबाहेकका शिर्षकबाट राजस्व संकलन गर्न नसकेको खतिवडाले जानकारी दिए ।