धरान । ‘धरान डे’ को उद्घाटन कार्यक्रममा काठमाडौका मेयर बालेन शाह प्रमुख आकर्षण बनेका छन् । शुक्रबारबाट सुरु भएको पाँच दिने मेला उद्घाटनमा शाहले संक्षिप्त मन्तव्यसमेत राखेका थिए । उनले बोल्दा दर्शकहरुले पटक पटक हुटिङ गरेका थिए । कार्यक्रमस्थलमा बालेन शाह जिन्दावादको नारा लागेको थियो ।
मेयर बालेन आउने विषयमा अघिल्लो दिन विहीबारसम्म आयोजकले जानकारी दिएको थिएन । त्यसो त धरानले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख अतिथीमा ल्याउन चाहेको थियो । दबाबस्वरुप नगर प्रमुख हर्क साम्पाङले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर वार्गेनिङसमेत गरेका थिए । तर मेयर साम्पाङ सफल हुन सकेनन् ।
पहिले पनि राजनीतिक दलहरुप्रति तिक्ततापूर्ण सम्बन्ध भएका कारण दाहालले कार्यक्रममा आउन अनिच्छा देखाएका थिए । दाहालमात्र होइन राजनीतिक दलका नेताहरु पनि कार्यक्रममा पुगेनन् । पूर्व मेयर, उपमेयरहरू पनि अनुपस्थित थिए । पुर्वमेयरहरुले आफूलाई निमन्त्रणा नभएको बताएका छन् । १०३ वर्षिया ज्येष्ठ नागरिकलाई प्रमुख अतिथी बनाएर कार्यक्रमको उद्घाटन गरिएको थियो ।
कार्यक्रममा मेयर शाहलाई विशेष अतिथीको सम्मान दिइएको थियो । सार्वजनिक कार्यक्रममा खासै नदेखिने र भाषण खासै नगर्ने मेयर शाहको उपस्थितीमा धरानवासी उत्साहित देखिन्थे ।
समारोहमा मेयर साहले धरान पहिलेदेखि नै चर्चित शहर रहेको बताए । उनले पहिले वीपी क्याम्पको लागि चर्चित रहेको धरान पछि आफ्नो लागि आफै लगानी गरेर बाटोघाटो बनाउने लाहुरेहरुको सहरको रूपमा परिचित भएको बताए । उनले पछिल्लो समय धरानको श्रम संस्कृतिको चर्चा देशविदेशमा हुन थालेको र अन्य पालिकाहरुले पनि यो सिक्नुपर्नेमा जोड दिए । उनले मेयर हर्क साम्पाङले व्यक्तिगत पहलमा पानी ल्याएको प्रसँग जोड्दै भने, ‘वहाँले गर्नुभएको काम गर्न मेयर पनि हुनुपर्दैन, सांसद पनि हुनु पर्दैन त्यत्तीकै पनि गर्न सक्नुहुन्थ्यो,’ उनले भने, ‘कुनै पावर चाहिँदैन, कुनै स्रोत चाहिँदैन, इच्छाशक्ति भयो भने गर्न सकिन्छ भन्ने कुरा सांसदहरुले सिक्नुपर्छ ।’
कार्यक्रममा विभिन्न सङ्घ संस्था, विद्यालय सांस्कृतिक झाँकीसहित सहभागी थिए ।