इटहरी । जंगलसँग सीमाना जोडिएको इटहरी वडा नं. ३ कार्यालयले बाँदर संरक्षण अभियान थालेको छ । जसअन्तर्गत वृक्षरोपण गर्ने र स्थानीयहरुमा वृक्षरोपण र वन संरक्षणसम्बन्धि चेतना जगाउने जस्ता कार्यक्रम गरिने वडाध्यक्ष उमेश सुवेदीले जानकारी दिए ।
बाँदरले बालीनाली क्षती गरेको खबर आइरहँदा बाँदरलाई जंगलमै रोकिराख्नको लागि अभियान थालिएको बताए । ‘जंगलभित्र प्रशस्त खानेकुरा नपाएपछि बाँदरले वस्तीमा पसेर विनाश गरिरहेका छन्,’ सुवेदी भन्छन्, ‘बाँदरलाई जंगलमै रोक्नको लागि जंगलमा उनीहरुको लागि खानेकुरा पाइने अवस्था बनाउनुपर्छ ।’
कार्यक्रममा बोल्दै सांसद भीम आचार्यले बाँदरको समस्या पहाडी क्षेत्रमा अत्यन्त बढेको बताए । उनले पहाडी अभियानको क्रममा धेरै किसानहरुले त्यही गुनासो गरेको बताउँदै बाँदरको समस्या राष्ट्रिय समस्या बनेको उनले बताए । ‘किसानहरु पहाडमा बस्न सक्ने अवस्था छैन, बसाइसराइ नगरी कुनै उपाय नभएको गुनासो जनताको छ,’ उनले भने, ‘कतिपय ठाउँमा फलफूलका विरुवा लगाउने र कतिपय ठाउँमा रुख काट्ने अभ्यास थालिएको छ, त्यसको प्रभावकारीता हेर्न बाँकी छ ।’
उनले केही देशहरुले धेरै भएका बाँदर चीन निर्यात गरिरहेको जानकारी दिँदै नेपालले पनि त्यही गर्नुपर्ने बताए । यस्तै उनले बाँदरको बन्ध्याकरण पनि एउटा उपाय हुन सक्ने बताए ।