काठमाडौं । युइएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा स्पेनिस क्लब बार्सिलोनाले सहज जित हात पारेको छ । उसले गएराति चेक रिपब्लिकको भिक्टोरिया प्लेजेनविरु ४–२ को जित हात पारेको हो ।
प्लेजेनको घरेलु मैदान बार्सिलोनालाई जित दिलाउन फेरान टोरेसले दुई तथा मार्कोस अलन्सो र पाब्लो टोरेले समान एक गोल गरे । थोमस चोरेले दुई गोल गरे पनि घरेलु टोलीको हार टार्न भने सकेनन् ।
खेलको छैटौं मिनेटमै अलन्सोको गोलमनर्फत बार्सिलोनाले अग्रता लिएको थियो । ४४ औं मिनेटमा टोरेसले टोलीको अग्रता दोब्बर बनाए ।
५१ औं मिनेटमा चोरेले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २(१ को स्थितिमा ल्याए । ५४ औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना ३(१ ले अघि बढ्यो ।
६३ औं मिनेटमा चोरेले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल ३(२ को स्थितिमा आयो । ७५ औं मिनेटमा टोरेले गोल गर्दै पाहुना टोलीलाई ४(२ को जित दिलाए ।
जितसँगै ६ खेलमा ७ अंक जोडेको बार्सिलोनाले तेस्रो स्थानमा रहेर युरोपा लिग खेल्ने पक्का हुँदा पराजित प्लेजेन समान खेलबाट विना अंक पुछारमा रहँदै बाहिरियो ।
यही समूहको अर्को खेलमा बायर्न म्युनिखले इन्टर मिलानलाई २(० ले पराजित गरेको छ ।
यो नतिजासँगै समूह चरणमा शतप्रतिशत जित निकालेको बायर्नले ६ खेलमा १८ अंकका साथ शीर्ष तथा पराजित इन्टरले समान खेलबाट १० अंकका साथ दोस्रो स्थानमा रहँदै अन्तिम १६ को यात्रा तय गरेका छन् ।