भ्रष्टाचारविरोधी पुर्व उपसचिव सञ्जेललाई अख्तियारको जिम्मा दिनुपर्ने चर्चा चुलियो

न्युजलय ३२ भदौ २०८२, बुधबार ११:४० मा प्रकाशित

इटहरी । इमान्दार छविका पूर्व कर्मचारी प्रेम सञ्जेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मा दिनुपर्ने चर्चा चुलिएको छ। सामाजिक सञ्जालमा उनको खोजी भइरहेको छ ।


भ्रष्टाचारविरोधी नाराबाट बनेको सरकारमा भ्रष्टाचारविरोधी छवि बनाएका व्यक्तिहरु जानुपर्ने भन्दै सामाजिक सञ्जालमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ल्याउनुपर्ने माग गरिएको छ ।


४० वर्षे सेवा अवधि पूरा गरी चार वर्षअघि सेवानिवृत्त भएका सञ्जेल भ्रष्टाचारविरोधी छवि बनाएका कर्मचारी हुन् । बोली झर्रो भएपनि उनी भ्रष्टाचार गर्नु हुँदैन र गर्न दिनु पनि हुँदैन भन्ने मान्यता राख्थे ।


को हुन् सञ्जेल, किन छन् चर्चित ?

२०३९ सालमा खरिदार पदबाट निजामती सेवा सुरु गरेका सञ्जेल २०६६ मा उपसचिवसम्म उक्लिए। तर, पदोन्नतिमा सामेल नभएर सधैं विवाद र संघर्षबीच सेवा अवधि बिताए। “हामी घुस खादैनौँ, तपाईं घुस दिन आउनुभएको भए कारबाहीमा पर्नुहुन्छ” भन्ने उनको नारा कार्यालयका ढोकादेखि कार्यकक्षसम्म टाँसिने गर्थ्यो ।


२०५० मा मोरङमा कार्यरत रहँदा पाँच कर्मचारीलाई भ्रष्टाचारमा संलग्न भन्दै हटाएपछि उनको सरुवा भयो। तर, सर्वोच्च अदालतले उनलाई पुनः त्यही कार्यालय फर्कायो। २०६४ सालमा सहकारीमाथि कारबाही थालेपछि झापा सरुवा भए तर गएनन्। 


२०७२ मा विराटनगर निर्वाचन कार्यालय पुग्दा ठेकदारको धरौटी जफत गरेर चर्चामा आए। त्यसबेला पनि सर्वोच्चले उनको सरुवा रोकेको थियो। २०७५ मा श्रम तथा रोजगार कार्यालयमा पुगेको दुई महिना नपुग्दै फेरि सरुवा भएपछि पत्रकार सम्मेलनमै तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौति दिएका थिए।


सञ्जेलले केवल बोलीमै होइन, कानुनी लडाइँमार्फत पनि सरकारलाई चुनौती दिन्थे। सर्वोच्चमा पटक–पटक जित्दै उनी पदमा फर्किने गरेका थिए। 


उनी श्रम कार्यालय विराटनगरमै सेवानिवृत्त भए । रिटायर्ड भएसँगै फेसबुकमा आफ्नो ४० वर्षे सेवाप्रति आक्रोश पोख्दै “थुइक्क मेरो ४० वर्षे सेवा” लेखेर फेरि सार्वजनिक चर्चामा आए।


भ्रष्टाचारविरोधी अभियानमा सक्रिय, बारम्बार सरकार र मन्त्रीलाई खुला चुनौती दिने र कानुनी लडाइँमार्फत उदाहरण प्रस्तुत गर्ने शैलीका कारण अहिले सञ्जेललाई अख्तियारमा जिम्मेवारी दिनुपर्ने बहस बढेको हो।