पेट्रोलीयम उद्योगका अग्रणी घिमिरे उद्योग वाणिज्य महासंघ सदस्य उम्मेदवार

न्युजलय २७ चैत २०७९, सोमबार ०३:०३ मा प्रकाशित

इटहरी । इटहरीमा व्यवशायीक पृष्ठभूमी भएका थोरै व्यवशायीहरु मात्र नेपालको उद्योग व्यवशायको केन्द्रमा पुगेका छन् । तीमध्ये एक हुन्, शिवप्रसाद घिमिरे । 

ललितपुरमा जन्मेर हेटौंडा हुँदै व्यापारको सिलसिलामा इटहरी आएका घिमिरेले इटहरी गाविस हुँदै ५० सालमा पकलीमा पेट्रोलपम्प खोलेका थिए । हालको इटहरी क्षेत्रमा पर्ने यो उनको तेस्रो पेट्रोल पम्प थियो । 

पेट्रोल पम्पपछि उनले ६५ सालमा ग्याँस उद्योग खोले । अहिले उनको लगानीमा इटहरीमा प्रिमा ग्याँस सञ्चालनमा छ भने रामधुनीमा कामाख्य ग्याँस सञ्चालनमा छ ।

घिमिरेले आज पेट्रोल पम्प तथा ग्याँस उद्योगलाई देशव्यापीरुपमा विस्तार गरेका छन् । 

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका पूर्व केन्द्रिय अध्यक्ष एवम् नेपाल एलपी ग्याँस उद्योग संघको अध्यक्ष रहेर देशभरको ग्याँस तथा पेट्रोलियम व्यवशायको नेतृत्व गरिसकेका घिमिरेलाई यस उद्योगको अग्रणी व्यवशायी तथा अविभावक मानिन्छ ।

उनले पेट्रोलियम व्यवशायमा मात्र होइन, धेरै उद्योग तथा व्यापारको क्षेत्रमासमेत हात हालेका छन् । संखुवासभाको चिया बगानदेखि बझाङको जलविद्युत्सम्म उनको लगानी छ । उनका छोरा सुदीपले पुर्वी नेपालको व्यवशायमा सहयोग गरिरहेका छन् भने शिवप्रसाद भने पश्चिम नेपालमा केन्द्रित छन् । 

यिनै व्यवशायी घिमिरे अहिले उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य उम्मेदवार बनेका छन् । महासंघको यही २८ र २९ मा हुने अधिवेशनमा वस्तुगत तर्फ केन्द्रिय सदस्यमा उनले उम्मेदवारी दिएका छन् ।

घिमिरेले आफूले व्यवशायीहरुको हकहित र विकासका लागि भुमिका खेल्ने बताएका छन् । संघमा रहेर देशभरकै व्यवशायीहरुको विकासमा योजनाबद्ध काम गर्ने उनको चाहना छ । व्यवसायिक विकासका लागि राज्यलाई गम्भीर बनाउने र निजी क्षेत्रको स्तरोन्नतिका निम्ति लागिपर्ने योजना आफ्नो रहेको उनले बताएका छन् ।