होर्डिङ बोर्डको राजस्व संकलन स्थानीय तह आफैले गर्नु : सञ्चारमन्त्री

न्युजलय २ चैत २०८१, आइतबार ०९:३४ मा प्रकाशित

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले होर्डिङ बोर्डबाट हुने राजस्व सङ्कलन आफैँले गर्न स्थानीय तहलाई आग्रह गरेका छन् । 


विज्ञापन बोर्डले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले होर्डिङ बोर्डमार्फत व्यापक राजस्व चुहावट भएको उल्लेख गर्दै ठेक्कामा नदिइ आफैँले राजस्व सङ्कलन गर्न स्थानीय तहलाई आग्रह गरेका हुन् । मन्त्री गुरुङले यसबाट करिब २० अर्ब राजस्व गुमाउनु परेको उल्लेख गरेका छन् । 


राष्ट्रिय विज्ञापन नीति पारित हुनासाथ नियमन र स्वनियमनको व्यवस्थालाई थप प्रभावकारी बनाइने उनले बताए । उनले विज्ञापन बजारको विकास र विस्तारसमेत बोर्डमार्फत गरिने उल्लेख गरे । सञ्चारमाध्यमको वर्गीकरण र स्तरीकरण गरी विज्ञापनदातालाई आवश्यक तथ्याङ्क प्रणालीको विकास गरिने, सरकारी विज्ञापनलाई थप व्यवस्थित र पारदर्शी बनाइने बताए ।


गुरुङले पछिल्लो समय आमसञ्चार माध्यममा विज्ञापनको मात्रा घटिरहेको र यसबाट सञ्चारमाध्यम प्रभावित भएको गुनासोप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउँदै त्यसतर्फ सञ्चारमाध्यमहरू नै गम्भीर हुन जरुरी रहेको धारणा राखे ।


प्रदेश तथा स्थानीय तहमा विज्ञापन संयन्त्रको विकास गरी लोककल्याणकारी विज्ञापनलाई तत्तत् निकायबाट प्रदान गर्ने व्यवस्था मिलाइनेसमेत जानकारी दिए ।