जेनबिज सुनसरीको ग्राण्ड फिनालेमा ‘टिम भिजनरिज’ प्रथम

न्युजलय २० असोज २०८३, मङ्गलबार ०९:३८ मा प्रकाशित

इटहरी । युवामा नवीन सोच, उद्यमशीलताको विकास तथा व्यावहारिक व्यवसाय निर्माण गर्ने उद्देश्यले सञ्चालित ‘जेनबिज सुनसरी–युवा उद्यमशीलता प्रशिक्षण शृङ्खला’ अन्तर्गतको आइडिया पिचिङ प्रतियोगितामा टिम भिजनरिज प्रथम भएको छ ।

सुष्मा गोदावरी कलेजको सभाहलमा आयोजित अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट तीन समूहबीच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा प्रथम भएको टोलीले व्यवसायमा एआइको प्रयोगलाई स्थानीय भाषा र आवश्यकता अनुकूल कसरी रूपान्तरण गरी प्रभावकारी बनाउन सकिन्छ भन्ने व्यावसायिक अवधारणा प्रस्तुत गरेको थियो। प्रथम टोलीले नगद ३० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ। दोस्रो हुने टोलीले २० हजार रुपैयाँ र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन्।

लक्ष्यदीपले गरेको कार्यक्रममा सुनसरीका विभिन्न स्थानीय तहबाट छनोट भएका ६० जना युवाको सहभागिता रहेको थियो। करिब डेढ महिनादेखि सञ्चालन भएको प्रशिक्षण अवधिमा सहभागीहरूले समस्या तथा सम्भावना पहिचान, ग्राहकको आवश्यकता, व्यावसायिक मूल्य प्रस्ताव, व्यावसायिक नमुना, बजार प्रतिस्पर्धा, आपूर्ति शृङ्खला, एकाइगत अर्थशास्त्र, आधुनिक बजारीकरण, कृत्रिम बौद्धिकताको प्रयोग तथा व्यवसाय मूल्याङ्कन र लगानी व्यवस्थापनलगायत विषयमा आधारित तालिमहरु लिएका थिए । 

अन्तिम चरणमा सहभागी समूहहरूले आफ्ना व्यावसायिक योजना प्रस्तुत गरेका थिए। योजनाको बजार सम्भाव्यता, वित्तीय दिगोपन तथा कार्यान्वयन योग्यताका आधारमा निर्णायक मण्डलले निर्णय दिएका थिए । निर्णायक मण्डलमा नेपाल विद्युतीय व्यवसायी महासङ्घ कोशी प्रदेशका अध्यक्ष तथा नेपाल युवा उद्यमी मञ्च सुनसरीका पूर्वअध्यक्ष चन्द्रमणि देवकोटा, सोल्टी वेस्टइन्ड इटहरीका प्रबन्ध निर्देशक विनोद पौडेल र मोरङ उद्योग सङ्गठनका महानिर्देशक चुडामणि भट्टराई रहेका थिए ।

कार्यक्रमका परियोजना प्रबन्धक तथा लक्ष्यदीपका अध्यक्ष सुरेन्द्र भण्डारीले औपचारिक कार्यक्रमभन्दा माथि उठेर युवाको सोचमा वास्तविक प्रभाव पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। युवाहरू जागिर खोज्ने मात्र नभई आफ्नै क्षेत्रमा रोजगारी सिर्जना गर्न सक्षम बनून् भन्ने चाहनाले कार्यक्रम गरिएको उनले बताए । 

जेनबिज सुनसरी युरोपेली सङ्घको सहयोग तथा ग्लोबल युथ मोबिलाइजेसनको पहलअन्तर्गत युवा सशक्तीकरण कोषको साझेदारीमा सञ्चालन भएको कार्यक्रम हो। कार्यक्रमको सुरुदेखि नै नेपाल युवा उद्यमी मञ्च सुनसरी शाखाले स्रोत व्यक्ति, उद्योगीको मार्गदर्शन तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै सहकार्य गरेको थियो।

कार्यक्रम सफल बनाउन सुष्मा गोदावरी कलेज र कस्तुरी कलेजले समेत संस्थागत सहयोग गरेका थिए । लक्ष्यदीपले सुनसरीका युवालाई उद्यमशीलता, समुदाय विकास तथा वित्तीय साक्षरतासँग जोड्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ।