संखुवासभामा छोराको कुटपिटबाट बुवाको मृत्यु

न्युजलय २७ चैत २०८०, मङ्गलबार ११:४८ मा प्रकाशित

खाँदबारी । संखुवासभाको पाँचखपन नगरपालिका– २ गैरीगाउँमा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ ।

सोमबार साँझ सोही स्थान बस्ने ५० वर्षीय युवराज राई र उनकै छोरा २८ वर्षीय सुमन राईबीच सामान्य घरायसी विषयमा ‍वादविवाद हुँदा सुमन राईले शरीरको विभिन्न भागमा कुटपिट तथा ढुंगाले टाउकोमा प्रहार गर्दा युवराज राई गम्भीर घाइते भएका थिए ।

घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवसभाले जनाएको छ ।