हालान्डको गोलमा म्यानचेष्टर सिटी विजयी

न्युजलय ३ बैशाख २०८०, आइतबार ०१:२१ मा प्रकाशित

काठमाडौं । एर्लिङ हालान्डको दुई गोल मद्दतमा प्रिमियर लिगको साविक विजेता म्यानचेष्टर सिटीले शनिबार लेस्टर सिटीलाई ३–१ ले पराजित गर्दै उपाधि होड कायम राखेको छ ।

सिटीले लिग लिडर आर्सनलसँग अंक दूरी जम्मा ३ मा झारेको छ । 

घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा सिटीले पहिलो हाफमै ३ गोल गरेको थियो । जोन स्टोन्सले पाँचौ मिनेटमा गोल गरी अग्रता दिलाएका थिए । त्यसपछि हालान्डले १३औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दोब्रर पारे भने २५औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

लेस्टरका लागि केहलेची इहनाचोले ७५औं मिनेटमा एक गोल फर्काए । 

जितपछि दोस्रो स्थानको सिटीको ३० खेलबाट ७० अंक भएको छ । समान खेलबाट आर्सनलको ७३ अंक छ ।

आइतबार वेष्टह्यामसँग खेल्दा आर्सनललाई अंक दूरी बढाउने मौका हुनेछ । त्यसपछि आर्सनल र सिटीको खेल हुनेछ ।