इटहरीमा फार्मेसीबाटै लागूऔषध कारोबार, श्रीमान–श्रीमती पक्राउ

न्युजलय ३ मङ्सिर २०८२, मङ्गलबार ०१:३३ मा प्रकाशित

इटहरी । इटहरी –१२ स्थित एक घरबाट ठूलो परिमाणको प्रतिबन्धित र नियन्त्रित औषधी बरामद गरिएको छ।

विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले फार्मेसी सञ्चालक श्रीमान–श्रीमतीलाई पक्राउ गरेको हो।

नसिव फार्मेसीमार्फत लागूऔषध बिक्री–वितरण भइरहेको जानकारी पाएपछि प्रहरी टोलीले फार्मेसी सञ्चालक ५० वर्षीय नसिव नारायण चौधरीको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा प्लास्टिकको बोराभित्र लुकाइछिपाइ राखिएको प्रतिबन्धित औषध ट्रामाडोल १९ हजार ८०० क्याप्सुल र नियन्त्रित औषध डिकोलिक ४ हजार ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।

उक्त परिमाणको औषधी बरामद भएपछि चौधरीसहित उनकी श्रीमती सम्झना चौधरीलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका दम्पतीलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको छ।