मोरङको ग्रामथानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

न्युजलय ३० कार्तिक २०८१, शुक्रबार ०१:२६ मा प्रकाशित

 विराटनगर । मोरङको ग्रामथानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचन लक्षित गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय शुक्रबार उद्घाटन गरिएको हो ।

मुख्य निर्वाचन अधिकृत जिल्ला अदालत मोरङका न्यायाधीश उद्ववप्रसाद भट्टराईले निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरेका हुन् । ग्रामथान गाउँपालिकाको कार्यालयमा रहने गरि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

मुख्य निर्वाचन अधिकृत भट्टराईले निर्वाचन कार्यक्रम मंसिर २ गते देखि शुरू जानकारी दिएका छन् । मंसिर २ गते मनोनयन दर्ता हुने कार्यक्रम रहेको छ ।

मनोनयन दर्ताका लागि राजनीतिक दलहरूलाई समय दिइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

सात वडा रहेको ग्रामथानमा उपनिर्वाचनका लागि २६ हजार ४४ मतदाता छन् । ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको गत असार ३ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।