काठमाडौं । ४० वर्ष उमेरहद र तहगत शैक्षिक योग्यताक्रम माग राष्ट्रिय संघर्ष समितिले शिक्षक हुन स्नातक पास गरेको हुनुपर्ने बुँदा संशोधन गर्न माग गरेको छ ।
प्रस्तावित विद्यालय शिक्षा विधेयकमा शिक्षक हुन कम्तीमा स्नातक पास गरेको हुनुपर्ने बुँदा सहित ६ बुँदे संशोधनका बुँदा संसदको शिक्षा समितिमा पेश गरिएको हो ।
प्रतिनिधि सभामा पेश भएको विद्यालय शिक्षा विधेयकमा ‘आधारभूत तहको शिक्षकको हकमा जुनसुकै विषयमा स्नातक तह तथा विषयगत शिक्षकको हकमा सम्बन्धित विषयमा स्नातक तह र माध्यमिक तहको शिक्षकको हकमा सम्बन्धित विषयमा स्नातकोत्तर गरेको’ हुनुपर्ने प्रस्ताव गरिएको छ।
र संघर्ष समितिले भने आधारभूत तहतर्फ कक्षा १ देखि ५ सम्म पढाउन तथा कक्षा ६ देखि ८ सम्म पढाउन न्यूनतम प्लस टु पास गरेको शैक्षिक योग्यता भए पुग्ने बताउँदै विधेयकमा यी ६ बुँदा विधेयक संशोधनका क्रममाः समावेश गरिदिन सांसदहरूलाई आग्रहसमेत गरेका छन्।
उनीहरूले माध्यमिक तहतर्फ कक्षा ९ र १० लाई पडाउन न्यूनतम स्नातक र ९ देखि १२ सम्म पढाउन मात्रै स्नातकोत्तर पास गरेको हुनुपर्ने समावेश गर्न माग गरेका छन्।
२१ वर्ष पूरा भई ३५ वर्ष ननाघेकोले शिक्षक सेवा आयोगमा आवेदन दिन सक्ने विधेयकमा प्रस्ताव गरिएकोमा यसमा संशोधन गरी १८ वर्ष पूरा भई ४० वर्ष पूरा नभएका राख्न उनीहरूले माग गरेका छन्।
उनीहरूले सामुदायिक विद्यालयमा आबद्ध भएका जुनसुकै शिक्षक र कर्मचारीका छोराछोरीलाई अनिवार्य आफूले पढाउने विद्यालयमा पढाउनुपर्ने व्यवस्था विधेयकमा राख्न पनि माग गरेका छन् ।