आज वसन्तपञ्चमी, विद्याकी देवी सरस्वतीको आराधना गर्ने दिन

न्युजलय २ फाल्गुण २०८०, बुधबार ०६:५८ मा प्रकाशित

 काठमाडौं । बुधबार(आज) माघ शुक्ल पञ्चमी अर्थात् विद्याकी देवी सरस्वतीको आराधना गर्ने दिन। विद्या आर्जन गर्नेहरूले आज देवी सरस्वतीको उपासना गर्दैछन्।

विद्यार्थी,साहित्यकार र कलाकारले यो दिन विद्या र कलासामग्रीको पूजा गर्छन्। यो दिनलाई श्रीपञ्चमी वा वसन्तपञ्चमी पनि भनिन्छ। यो दिन बालबालिकालाई अक्षरारम्भ वा विद्यारम्भ गराउने चलन पनि छ।

देवीभागवत महापुराणको नवम स्कन्ध चतुर्थ अध्यायमा माघ शुक्ल पञ्चमीमा गरिने सरस्वती पूजाबारे उल्लेख छ।

सेतो वस्त्रमा सुशोभित, चार हातमा स्फटिकको माला, वीणा र पुस्तक लिएर पद्मको आसन बनाएकी, शान्त स्वरूपकी भगवती सरस्वतीले सदा सर्वदा बुद्धि–विद्या प्रदान गरुन् भन्ने विद्यार्थीको कामना हुन्छ।