इटहरी । इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठकप्रति उपप्रमुख संगिता चौधरीले आपत्ति जनाएकी छिन् । आफू नभएको बेला बैठक डाकेको भन्दै उनले बैठक अवैधानिक भएको समेत जनाएकी छिन् ।
कर्मचारी स्तरवृद्धि, टेंग्रा खोला विस्तार लगायतका महत्वपूर्ण विषयमा छलफल हुने योजना रहेको कार्यपालिका बैठक आफू भ्रमणमा रहेको समयमा बोलाइएको भन्दै यसलाई सुनियोजित षड्यन्त्रपूर्ण भनेकी छिन् ।
उपमेयर चौधरीसँगै उपमहानगरपालिकाका प्रवक्ता तथा वडाध्यक्ष दिवस पोख्रेल पनि सँगै छन् । नगरप्रमुख हेमकर्ण पौडेलको भ्रमण आदेशमा आफूहरु भ्रमणमा गएकै समयमा बैठक बस्नु गलत भएको बताएकी छिन् ।
कार्यपालिका बैठक बस्दा ७२ घण्टा अगाडि जानकारी गराउने नियमसमेत पालना नगरिएको उनको भनाई छ । नियम विपरित बोलाइएको बैठक अवैधानिक भएको उनको भनाई छ ।
उपमेयर, प्रवक्ता लगायतको एउटा टोली अवलोकन भ्रमणका क्रममा मुगु, दैलेख, चितवनलगायतको भ्रमणमा छन् ।