खेल प्रतियोगितामा उत्कृष्ठ बन्दै विश्व आदर्श, विजेता विद्यार्थीलाई गर्यो सम्मान

न्युजलय १८ फाल्गुण २०८०, शुक्रबार ०९:४९ मा प्रकाशित

इटहरी । इटहरीस्थित विश्व आदर्श एकेडेमीले शिक्षा सँगै अतिरिक्त क्रियाकलापमासमेत आफूलाई अब्बल प्रमाणित गर्दै लगेको छ । खेलकुदका दुई प्रतियोगितामा विश्व आदर्शले जिल्लामै उत्कृष्ट नतिजा ल्याएको छ ।


विद्यालयको तर्फबाट खेलेर विजयी भएका आफ्ना विद्यार्थीहरुलाई एकेडेमीले सम्मान गरेको छ ।


हालै सम्पन्न हिसान स्पोट्र्स मिट तथा इटहरी उपमहानगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजयी विद्यार्थी तथा टिमलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।


सम्मान कार्यक्रममा प्रतियोगितामा विजयी टिम तथा विद्यार्थी, प्रशिक्षकलगायतलाई कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिका शिक्षा शाखा प्रमुख द्रोण दाहाल, एकेडेमीका अध्यक्ष लेखनाथ घिमिरेले सम्मान गरेका थिए ।


४० वटा विद्यालय सहभागी हिसान स्पोट्र्स मिटमा ५ गोल्ड मेडलसहित एकेडेमी प्रथम भएको थियो । यस्तै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यस वर्ष प्रथम भएको जनाएको छ । 


कार्यक्रममा बोल्दै एकेडेमीका अध्यक्ष घिमिरेले एकेडेमीले विद्यार्थीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने तर्फ ध्यान दिएको बताए ।


कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिका शिक्षा शाखा प्रमुख दाहालले एकेडेमी पुर्व क्षेत्रमै नाम कमाएको शैक्षिक संस्था भएको र त्यसका लागि विद्यार्थीहरुको योगदान समेत महत्वपुर्ण रहेको बताए । 


एकेडेमीका प्राचार्य गणेशकुमार दुलालले आफना विद्यार्थीहरुले एकेडेमीक तथा खेलकुद लगायतका अन्य अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्टता हासिल गर्दै आएको जानकारी गराए ।


कार्यक्रममा रामधुनी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष महेश चौधरी, एकेडेमीका सहायक प्राचार्य रितेश चौधरी, निर्देशक हरि खतिवडा लगायतको सहभागिता रहेको थियो ।