कोशी प्रदेशका १९९ जनाले पाए कृत्रिम हात

न्युजलय २७ कार्तिक २०८२, बुधबार ०५:३५ मा प्रकाशित

इटहरी । कोशी प्रदेशका १९९ जना अपांगता भएका व्यक्तिहरुले कृत्रिम हात निःशुल्क पाएका छन् । करुणा फाउण्डेसन नेपाल र द ह्यान्ड प्रोजेक्ट, जर्मनीको सहकार्यमा आयोजित १० दिने शिविरका क्रममा २०४ वटा हलुका र सहजै प्रयोग गर्न सकिने कृत्रिम हात निःशुल्क पाएका हुन् ।


१९९ जनामध्ये ५ जनालाई दुवै हातको नापजाँच, जडान र वितरण गरिएको थियो भने अन्यले एक एक वटा पाएका थिए । यस्तो हातबाट घरका सामान्य कामहरु जस्तै लुगा धुन, रेखा कोर्न, तरकारी ताछ्न, काँटी ठोक्न, सामान उचाल्न, खेतबारी खन्न सजिलो हुन्छ ।


शिविरमा ५७ जना महिला र १४७ जना पुरुष सहभागी थिए । तीमध्ये १७ जना बालबालिका थिए ।


शिविरको सञ्चालनमा न्युजिल्याण्ड र युगान्डाबाट आएका प्राविधिक टोलीले व्यक्तिहरूको आवश्यकताअनुसार नापजाँच गरेर कृतिम हात जडान गरेका थिए । त्यसपछि लाभग्राहीहरूलाई कृतिम हातको प्रयोग सम्बन्धी व्यवहारिक प्रशिक्षण पनि दिइएको थियो ।


शिविरको सफलतासँगै लाभग्राहीहरूले कृतिम हात प्राप्त गरेपछि आत्मविश्वास बढेको र दैनिक काम गर्न सहजता मिल्ने विश्वास व्यक्त गरेका छन् ।


करुणा फाउण्डेसन नेपालले भविष्यमा पनि अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरण, पुनःस्थापना तथा अधिकार प्रवर्द्धनका क्षेत्रमा निरन्तर सहकार्य जारी राख्ने जनाएको छ ।