विज्ञान विषयमा जनता स्कुलको प्रगती : विद्यार्थीलाई रोबोट बनाउने तालिम

न्युजलय १२ जेठ २०८१, शनिवार ०८:१९ मा प्रकाशित

इटहरी । पुर्वाञ्चल इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले इटहरीस्थित जनता माविका विद्यार्थीहरुलाई रोबोटबारे जानकारी र प्रशिक्षण दिएका छन् । कक्षा ७ देखि ९ सम्म अध्ययनरत विज्ञान विषयका विद्यार्थीहरुलाई कलेजका तीन जना विद्यार्थीहरुले प्रशिक्षण दिएका हुन् । 


रिमोट कन्ट्रोलबाट रोबोट बनाउने विषयमा व्यवहारिक जानकारी पाएपछि विद्यार्थीहरुले आफ्नो विषयको प्रयोगात्मक ज्ञान हाँसिल गर्ने विद्यालयले जनाएको छ । विद्यार्थीहरुलाई किताबी ज्ञानका साथै व्यवहारिक ज्ञान दिनको लागि यस्तो कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक पशुपती सिग्देलले बताए । 


सुलभ र गुणस्तरीय शिक्षाका कारण पछिल्लो समय विद्यार्थीहरुको रोजाइमा परेको इटहरीको जनता माविले विज्ञान विषयलाई समेत प्रतिष्पर्धी तरिकाले अघि बढाउन थालेको सिग्देलले जानकारी दिए । 


९ कोठाको सिँगै भवनलाई विज्ञानको प्रयोगात्मक ल्याब बनाएको विद्यालयले यसलाई पुर्वकै सुविधासम्पन्न दावी गरेको छ । ल्याबमा विज्ञानका भौतिक, रसायन, जीव विज्ञान आदिसँग सम्बन्धित प्रयोग गर्न आवश्यक सबै उपकरण व्यवस्थापन गरिएको व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले बताए ।


विद्यालयमा अहिले शिक्षा, मानवीकी, कम्प्युटर साइन्ससहितको व्यवस्थापन, विज्ञान र कानुन विषय पढाइ हुन्छ । अहिले विद्यालयमा कक्षा १२ सम्म गरेर तीन हजार पाँच सय विद्यार्थी छन् । 


आगामी वर्ष कक्षा ११ मा विद्यालयले एक हजार विद्यार्थी भर्ना गर्ने लक्ष्य लिएको छ । साथै गरिब तथा जेहेन्दार विद्यार्थीलाई विशेष सुविधा र सहुलियत दिने गरेको जानकारी दिएको छ ।