विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ६२ करोड

न्युजलय १० असार २०७९, शुक्रबार ०९:१४ मा प्रकाशित

विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि अनुमानित ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

  

महानगर उपप्रमुख शिल्पा निराला कार्कीले शुक्रबार महानगरको १० औं सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त बजेट सार्वजनिक गरेकी हुन् । प्रस्तुत बजेट चालु आर्थिक वर्षको भन्दा १ अर्बले न्यून हो ।

 

प्रस्तुत बजेटमध्ये पूर्वाधार विकासका क्षेत्रमा १ अर्ब ८९ करोड ७१ लाख १७ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ५५ करोड ३५ लाख ५० हजार, आर्थिक विकास क्षेत्रमा २७ करोड ७३ लाख, सामाजिक विकासमा ७८ करोड ३९ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ७ करोड ७७ लाख र वातावरण तथा विपद व्यवस्थापन क्षेत्रकालागि ३ करोड ६० लाख खर्च हुने अनुमान गरिएको छ ।


बजेटले वडास्तरीय योजनाका लागि ४२ करोड ६८ लाख १७ हजार, नगर स्तरीय आयोजनाकालागि ३० करोड, बहुवर्षीय तथा गौरवका आयोजनाका लागि २९ करोड, क्रमागत योजना भुक्तानीका लागि ४० करो, रुडपबाट निर्माण भएकासहितका पक्की सडक मर्मत सम्भारका लागि १४ करोड, अन्य पूर्वाधार निर्माणकालागि ९ करोड ८० लाख, फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड ५० लाख र समपुरक कोषकालागि ४ करोड ८० लाख विनियोजन गरेको छ ।


अनुमानित बजेटको स्रोत व्यवस्थापनका लागि महानगरले संघीय सरकार अन्तर सरकारी वित्तिय हस्तान्तरणबाट १ अर्ब २१ करोड ८५ लाख, प्रदेश सरकारबाट ४ करोड ९१ लाख ९७ हजार, राजश्व बाँडफाँडबाट १ अर्ब १३ करोड ९९ लाख ७० हजार, आन्तरिक आय १ अर्ब, जनसहभागीताबाट ८ करोड, अनुदान तथा ऋणबाट १० करोड १९ लाख र संघ सस्थावाट ३ करोड ६० लाख अनुमान गरेको छ ।