काठमाडौँ । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा लगातार दोस्रो हार व्यहोरेको छ । बुधबार भएको खेलमा नेपाल नेदरल्यान्डसँग २ रनले पराजित भएको हो । हिजो भएको पहिलो खेलमा भने नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्डले दिएको १८५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १८२ रन मात्रै जोड्न सक्यो ।
नेपालका कप्तान रोहितकुमार पौडेलले ५० रनको अर्धशतकीय इनिङ खेले । साथै ओपनर आशिफ शेखले ३४ रन जोडे । तर, अर्का ओपनर कुशल भुर्तेललाई नेपालले शून्य रनमा गुमायो । पहिलो ओभरको चौथो बलमा भुर्तेल डक आउट भएका हुन् । उनी मंगलबार भएको नामिबियाविरुद्धको खेलमा पनि पहिलो बलमै डकआउट भएका थिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा मात्र ४ विकेट गुमाउँदै १८४ रन जोडेको थियो ।