इटहरी । सोमबारदेखि इटहरी रंगशालामा रात्रीकालिन मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुँदैछ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना र जिल्ला भलिबल संघ सुनसरीको संयोजनमा हुन लागेको प्रतियोगितामा सहभागीताका लागि छ वटै टिम इटहरी आइसकेको जिल्ला भलिबल संघ सुनसरीका अध्यक्ष बिक्रम बाबु थापाले जानकारी दिए ।
प्रतियोगितामा तीन वटा विभागीय र लुम्विनी, बागमती र कोशी प्रदेशको टिम सहभागि हुँदैछ । जेष्ठ ३२ गतेसम्म चल्ने प्रतियोगितामा विजेता बन्ने टिमले नगद ३ लाख, शिल्ड र प्रमाणपत्र पाउने छ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ । सर्वोत्कृष्ट खेलाडीले नगद ५५ हजार रुपैयाँ पाउने छन् । यस्तै, उत्कृष्ट विधाहरु अन्तर्गत बेस्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर र डिफेन्डरलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने छ ।
अत्याधिक गर्मीको मौसम रहेकाले प्रतियोगिता रातिको समयमा आयोजना गर्न लागिएको थापाले बताए । प्रतियोगिता साँझ ६ बजेबाट राती १० बजेसम्म चल्ने छ । दर्र्शकहरुका लागि प्रतियोगिता हेर्नका लागि प्रवेश निःशुल्क गरिएको छ । इटहरी रंगशालामा फ्लड लाइट जडान भएपछि रात्री प्रतियोगिता गर्न लागिएको हो ।