‘संकटको बेलामा बैंकहरुले थोरै नाफा खाएर अर्थतन्त्र सहज बनाइदिनुपर्छ’ : मुख्यमन्त्री कार्की

न्युजलय २६ फाल्गुण २०७९, शुक्रबार ०५:०८ मा प्रकाशित

इटहरी । अर्थतन्त्र संकटमा रहेको बेलामा सरकारी ढुकुटीमा रहेको पुँजी परिचालन गर्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले माग गरेका छन् । उनले नागरिक लगानी कोष, टेलिकम, सञ्चयकोष, नेपाली सेना, नेपाल प्रहरीहरुमा पैसा थुप्रिएर रहेको भन्दै उक्त रकम सस्तो ब्याजमा ऋण दिएर आर्थिक र बैंकिङ संकट समाधान गर्न माग गरेका छन् । 

युवा उद्यमीहरुको संगठन एनवाइइएफले आयोजना गरेको पाँचौ राष्ट्रिय नेतृत्व सम्मेलनमा बोल्दै उनले व्यशायीहरुलाई राहत दिन बैंकहरुसँगसमेत आग्रह गरे । बैंकहरुले अनावश्यक तवरले ब्याजदर बढाएको भन्दै देश नै आार्थिक संकटमा रहेको समयमा थोरै नाफा खाएर अर्थतन्त्रलाई सहज बनाइदिन बैंकहरुसँग आग्रह गरे ।

‘व्यापारहरु चौपट भएका छन्, उद्योगीहरु तिल्मिलाएका छन्, यति धेरै ब्याजदर बढाउनुपर्छ भन्ने छैन,’ उनले भने, ‘बैंकहरुले केही समय थोरै नाफा खाएर पनि आर्थिक अवस्था सुधार गर्नुपर्छ र सस्तोमा ऋण दिनसक्ने ती ठाउँहरुलाई परिचालन गर्नुपर्छ ।’

उनले निश्चित घरानालाई फाइदा हुनेगरी नीति बनाउँदा अरु धेरै व्यवशाय बन्द भएर धेरैले रोजगारी गुमाइरहेको बताए । सरकारले आर्थिक समस्यालाई गम्भीरतापूर्वक लिएर व्यवशायीसँग समन्वय गरेर समाधानका उपाय निकाल्नुपर्नेमा जोड दिए । प्रदेशले बनाउनुपर्ने नीतिहरुको सम्बन्धमा सुझावसमेत माग्दै उनले उद्यमीहरुलाई पलायन नभइदिन आग्रह गर ।

‘नेपालको अर्थतन्त्र नै क्र्यास हुन्छ कि भन्ने अवस्थामा तपाइहरु विदेश जाने वा उद्योग धन्दा बन्द गर्ने काम गरिदिनुभयो भने मुलुक झन् पछि पर्छ,’ राष्ट्रिय पुँजीको विकास गर्न सकिएन भने सानो अवस्थाले पनि अर्थतन्त्र क्र्यास हुन सक्ने धारणा राख्दै उनले भने, ‘बरु कस्तो वातावरण बनाउनुपर्छ र के के सुधार गर्नुपर्छप, हामी प्रतिबद्ध छौं ।’

आयोजक संस्थाका राष्ट्रिय अध्यक्ष रितेश लामिछानेले एनवाइइएफ स्थापनाको १९ वर्ष पुगेको बताउँदै देशभरमा ११ च्याप्टरमा ८०० जनाभन्दा बढी सदस्यहरु रहेको जानकारी दिए । उनले आफूहरुले नेपालको आर्थिक विकासको लागि मेड इन नेपाल र स्थानीय पर्यटन प्रबद्र्धन गर्ने अभियान नै चलाएको बताए । 

कार्यक्रममा जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले युवा व्यवशायीहरुलाई उत्प्रेरणात्मक सुझावहरु दिएका थिए । उनले आफूले युवाअवस्थामा लामो समय व्यवशाय सञ्चालन गरेको बताउँदै पछिल्लो समय अध्यात्मसँग जोडिएर अघि बढेको बताए ।

कार्यक्रममा भारतीय युवा उद्यमी अनुज अग्रवाललेसमेत आफ्ना अनुभवहरु राखेका थिए । उनले समयानुसार ग्राहकको आवश्यकताको आधारमा व्यवशायलाई परिमार्जन गरेर अघि बढ्नुपर्ने र मेहेनत गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रमले देशभरका युवा उद्यमीहरुलाई एकआपसमा जोड्ने र संगठित भएर साझा समस्या समाधान गर्न सहयोग पुग्ने एनवाइइएफ सुनसरीका अध्यक्ष सन्तोष आचार्यले बताए । कार्यक्रममा संस्थाका कार्यकारी सदस्य सुदिप घिमिरे, जेसिसका पुर्व राष्ट्रिय अध्यक्ष महेश पौडेललगायतको उपस्थिती थियो । सम्मेलनमा इस्कोनका महासचिव रुपेश्वर गौर दास तथा व्यवशायी दुर्गा प्रसाईलेसमेत सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलन शनिबार सम्पन्न हुनेछ ।