विराटनगर । मोरङमा एकैरात तीनवटा सुनचाँदी पसलमा चोरी भएको छ। बेलबारी नगरपालिका–१ स्थित पसलमा मंगलबार राति चोरी भएको प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका अनुसार पसलको चाबी र सटर फोडेर बेलबारी–१ को न्यू बराइली कारखाना एण्ड ज्वेलर्स, नवरत्न ज्वेलर्स र न्यू वराह ज्वेलरीमा चोरी गरिएको छ। नेत्रप्रसाद दाहालको घरमा डेरा गरेर बस्ने छत्रबहादुर विकले सञ्चालन गरेको न्यू बराइली ज्वेलर्सबाट चाँदीको बुटी सयवटा (अन्दाजी २५ तोला), तामाको बुटी सयवटा (अन्दाजी ३ सय ग्राम) र ४ आनाको सुनको पोते चोरी भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ईश्वरी चौलागाईंको घरमा डेरा बस्ने रत्नमाया सुनार र किरण सुनारले सञ्चालन गरेको नवरत्न ज्वेलर्सबाट २ किलो बराबरको सुन र चाँदीका सामग्री तथा गहना चोरी भएको छ।
त्यस्तै कूलबहादुर दर्नालले सञ्चालन गरेको न्यू वराह ज्वेलरीबाट ११ किलोग्राम बराबरको चाँदीबाट बनेका गहना र सामग्री चोरी भएको प्रहरीले जनाएको छ।
पसलहरुमा रातको कुन समयमा चोरी भएको हो र घटनामा कसको संलग्नता छ भन्ने यकिन भइसकेको छैन। घटनाको प्रकृति हेर्दा एउटै समूहले चोरी गरेजस्तो देखिने प्रहरीको भनाइ छ ।
चोरी भएका ज्वलेर्सरूमा सीसी क्यामेरा जडान नगरेको पाइएको छ। घटनास्थल वरपर रहेका सीसी क्यामेराको अध्ययन गरेर चोरीमा संलग्न गिरोह पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।