विराटनगर । मोरङको निर्माणाधीन घरको छतबाट खसेर एक जना मजदुरको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–२ का ४८ वर्षीय सनीकुमार श्रेष्ठको बुधबार मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
उर्लाबारी–२ का जेनिस लिम्बूको निर्धाणाधीन घरको दोस्रो तलाको छतबाट खसेर श्रेष्ठको मृत्यु भएको हो । उनी लिम्बूको घर निर्माणमा खटिएका कामदार हुन् ।
घर निर्माणमा प्रयोग गरिएका पुराना काठ झार्ने क्रममा आज बिहान छतबाट खसेर श्रेष्ठ गम्भीर घाइते भएका थिए । तत्काल उद्धार गरेर उपचारका लागि मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगरतर्फ ल्याइएको थियो ।
विराटनगरको आर्या न्युरो अस्पताल पुर्याउनसाथ चिकित्सकले श्रेष्ठलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरी कार्यालय उर्लाबारीले अनुसन्धान अघि बढाएको छ ।