पैसा नभएको खाताको १५ लाखको चेक दिएर फरार न्यौपाने पक्राउ

न्युजलय २१ पुस २०८०, शनिवार १२:०४ मा प्रकाशित

खोटाङ । पैसा नभएको खाताको चेक दिएर फरार बनेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको छ । खोटाङका खगेन्द्र राईलाई पैसा नभएको खाताको चेक दिएर बदमासी गरेको भन्दै मोरङको कानेपोखरी गाउँपालिका–१ का सुवास न्यौपानेलाई पक्राउ गरेको हो ।

पैसा नभएको चेक दिएर फरार बनेका न्यौपानेलाई पुस १९ गते बेलबारी नगरपालिका–१ बेलबारीबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

खोटाङ हलेसी कम्पनी कन्स्ट्रक्सन प्रालिको क्रसर र जेनेटर लगेवापत न्यौपानले राईलाई १५ लाखको माछापुच्छे बैंकको चेक दिएका थिए तर चेक साट्न जाँदा खातामा पैसा नभएको भन्दै राईले न्यौपाने विरुद्ध बैंकिङ कसुर मुद्धामा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

जाहेरी दर्तापछि जिल्ला अदालतबाट पक्राउ अनुमती जारी गरी फरार न्यौपानेलाई पक्राउ गरिएको हो । न्यौपाने विरुद्ध जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।