इटहरी . काव्य डबलीको तेस्रो शृङ्खला शनिबार इटहरीस्थित कोशी कलेजको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न पुस्ताका कविहरूले समकालीन विषयवस्तु समेटिएका कविता वाचन गरेका थिए।
कार्यक्रमको सुरुआतमा काव्य डबलीका सोनु जयन्तीले सहभागीलाई मौन रहन आग्रह गरेका थिए। त्यसपछि सुरु भएको काव्यपाठमा उपस्थित श्रोताले अन्तिमसम्म अनुशासित रूपमा कविता श्रवण गरेका थिए।
तेस्रो शृङ्खलामा प्रज्वल पराजुली, जीवन आरोही, राज आशातीत, सवी मेवाहाङ, पराजीत पोमु, उमेश लुइँटेल, सुन्दर कुरुप, पुस्तिका भण्डारी, राजकुमार सुब्बा, नवराज मैनाली, विवेक विवश रेग्मी, राज माङलाक, मनु मञ्जिल र देवान किरातीले आ–आफ्ना कविता वाचन गरेका थिए।
कविहरूले प्रेम, प्रकृति, समय, राजनीति, समाज, मानवीय सम्बन्ध, पहिचान तथा समकालीन जीवनका विविध पक्षलाई आफ्ना सिर्जनामार्फत प्रस्तुत गरेका थिए। कार्यक्रमभर कविता वाचनसँगै श्रोताको उत्साहपूर्ण सहभागिता रहेको थियो।
आयोजकका अनुसार काव्य डबलीको उद्देश्य कविता लेखन तथा वाचन संस्कृतिको प्रवर्द्धन गर्नुका साथै नयाँ र स्थापित स्रष्टालाई साझा मञ्च उपलब्ध गराउनु हो। डबलीले हरेक दुई महिनामा नियमित रूपमा काव्यपाठ कार्यक्रम आयोजना गर्ने जनाएको छ।