किशोरीलाई चिनियाँ नागरिकसँग जबरजस्ती विवाह गराउने ८ जना पक्राउ

न्युजलय ८ कार्तिक २०८१, बिहिबार १२:५४ मा प्रकाशित

सुनसरी । चिनियाँ नागरिकसंग बाल विवाह गराउने ८ जनालाई सुनसरी प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धनकुटा छथर जोरपाटी गाँउपालिकाकी १६ वर्षीया बालिकालाई चीनका ३३ वर्षीय लि टेङसंग विवाह गराउने बुवासहित ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

सुनसरी प्रहरीका अनुसार चीनका नागरिकसंग जबरजस्ती विवाह गराइरहेको अवस्थामा सुनसरीको चतरास्थित औलिया बाबाको मन्दिरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

घटनामा संलग्न रहेका तीन जना चीनका नागरिक र ६ नेपालीलाई पक्राउ गरी प्रहरीले अनुसन्धानको काम अघि बढाएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा उमेर नपुगेकी छोरीलाई जबरजस्ती विवाह गराउने किशोरीका बाबु, बेहुला बनेका लि टेङ, उदयपुरको बेलका नगरपालिकाका ४३ वर्षीय दिपक दर्जी, ४२ वर्षीय बद्रीविक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिकाका २० वर्षीया सितल गुरुङ, काभ्रेपलान्चोकको रोशी गाउँपालिका २० वर्षीया रोशनीमाया तामाङ, र चीनका ३५ वर्षीय डोङ शिहाओ र वु हेजी रहेका छन् ।