विश्वकप फुटबलको समूह चरणबाटै बाहिरियो कतार

न्युजलय १० मङ्सिर २०७९, शनिवार ०३:०५ मा प्रकाशित

काठमाडौं । घरेलु टोली कतार फिफा विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।

 

समूह एमा रहेको कतार लगातार २ खेलमा पराजित भएपछि एक खेल अगावै समूह चरणबाट आउट भएको हो ।


आज कतार सेनेगलसँग ३–१ गोल अन्तरले पराजित भएको हो ।


दोहामा भएको खेलमा सेनेगलले ४१ औं मिनेटमा गोलको खाता खोलेको थियो । उसका लागि बोलेए डियाले गोल गर्दै अग्रता दिलाएका थिए ।


पहिलो हाफमा १ गोल गरेको सेनेगलले दोस्रो हाफमा २ गोल थप्दा १ गोल व्यहोरेको थियो ।

 

फमारा डेधेयुले दोस्रो हाफको सुरुमै गोल गर्दै सेनेगलको अग्रता दोब्बर बनाए । 


७८ औं मिनेटमा मोहम्मद मुन्टरीले गोल गर्दै अग्रता २–१ मा झारेका थिए । मुन्टरी विश्वकपमा पहिलो गोल गर्ने कतारी खेलाडी पनि बनेका छन् ।


८४ औं मिनेटमा बेम्बा डिङले गोल गरेपछि सेनेगल ३–१ गोल अन्तरले विजयी भयो । 


कतारले अब अन्तिम खेलमा नेदरल्याण्ड्ससँग खेल्ने छ ।