रामधुनीले सार्वजनिक गर्यो खर्च विवरण, कुल बजेटको ७४.८३ प्रतिशत खर्च

न्युजलय ७ साउन २०८१, सोमबार १०:५८ मा प्रकाशित

रामधुनी । रामधुनी नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को खर्च विवरणसहित प्रतिवेदन सार्वजानिक गरेको छ । नगरको वार्षिक गतिविधिहरुमा सुशासन र पारदर्शितामा जोड दिदै नगरपालिकाले खर्च विवरण सार्वजानिक गरेको हो । 


नगरपालिकाको आ.व. २०८०/०८१ मा कुल बजेटको ७४.८३ प्रतिशत खर्च भएको जनाइएको छ । कुल बजेट रु ८१ करोड ५ लाख ६ हजार ४३८ रुपैया रहेकोमा ७४.८३ प्रतिशत अर्थात् ६० करोड ६५ लाख ८० हजार ८३१ रुपैया खर्च भएको लेखा अधिकृत विरेन्द्र सिग्देलले जानकारी दिए । 


यस्तै चालु खर्चतर्फ ४९ करोड १९ लाख ६६ हजार ४२१ रुपैया विनियोजन गरिएकोमा ३९ करोड २७ लाख ५२ हजार ७६६ रुपैया अर्थात् ७९.८३ प्रतिशत खर्च भएको छ भने पूंजीगततर्फ ३१ करोड ८५ लाख ४० हजार १७ रुपैया बजेटमध्ये २१ करोड ३८ लाख ६४ रुपैया खर्च भएको छ । यो ६७.१३ प्रतिशत हो । 


नगरपालिकाले खर्च विवरण वडागत रुपमासमेत सार्वजनिक गरेको छ । जसमा वडा नं. ४ ले सबैभन्दा बढी योजना कार्यक्रम कार्यन्वयन गरी सम्पन्न गरेको छ । उसले जम्मा ७८ लाख २४ हजार ८०१ रुपैयामा ९७.१७ प्रतिशत खर्च गरेको छ । यसैगरी वडा नं. ८ ले ९४.७२ प्रतिशत, वडा नं. ७ ले ९२.८८ प्रतिशत, वडा नं. १ ले ८८.४० प्रतिशत, वडा नं. ३ ले ८७.९७ प्रतिशत बजेट खर्च गरेका छन् । यसैगरी वडा नं. ९ ले ८७.८९ प्रतिशत खर्च गरेको छ भने वडा नं. ६ ले ८६.३४ प्रतिशत वडा नं. ५ ले ८५.६ प्रतिशत खर्च गरेको छ । आर्थिक वर्षमा वडा नं. २ ले सबभन्दा कम ७९.२६ प्रतिशत खर्च गरेको छ ।

गत आर्थिक वर्षमा नगर योजना रकमबाट ८.५ किलोमिटर बाटो कालोपत्रे निर्माण भएको प्रगती प्रतिवेदनमा उल्लेख गरेको छ । प्रवक्ता केशब गौतमले प्रस्तुत गरेको प्रगती प्रतिवेदनमा रामधुनी ९ नं. वडाको छप्की पोखरीलाई पार्कको रुपमा विकास गरिएको, रामधुनी मन्दिरभित्र विवाह मण्डप निर्माण कार्य जारी रहेको, भासि बहुमुखि क्याम्पसको भवन निर्माणका साथै वडाका बाटोहरुमा ड्रेन निर्माण तथा ग्राभेल गर्ने कार्यहरु सम्पन्न गरेको जानकारी दिएका छन् ।


कार्यक्रममा बोल्दै नगर प्रमुख शंकरलाल चौधरीले नगरवासीप्रतिको जनउत्तरदायित्व पुरा गर्न आफूहरु प्रतिबद्ध रहेको बताएका छन् ।