अपूर्व क्षितिजलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

न्युजलय २२ भदौ २०७९, बुधबार ०३:५१ मा प्रकाशित

काठमाण्डौ । कमेडियन अपूर्व क्षितिज सिंहलाई थप ५ दिन हिरासतमा राखिने भएको छ । 

जिल्ला प्रशासन कार्यालयले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

अनुसन्धान नसकिएको भन्दै प्रहरीले अपूर्वलाई थप १० दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयसँग अनुमति मागेकोमा प्रशासनले ५ दिन अनुमति दिएको हो ।

कमेडी क्याफे नामक युट्युब च्यानलबाट अपलोड गरिएको ‘नेवारको परम्परा’ शीर्षकमा नेवा समुदायमाथि लक्षित गर्दै व्यंग्य सामग्री प्रसारण गरेको आरोपमा उनी गत १२ गते पक्राउ परेका थिए । 

उनको सामग्रीमा सामाजिक अभियन्ताहरुले आपत्ति जनाएका थिए । प्रहरीले उनलाई सुरुमा १० दिन हिरासतमा राख्ने अनुमति लिएको थियो ।

अपूर्व भने अहिले वीर अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार साँझ वीर अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले उनी उनीविरुद्ध ४ वटा मुद्दा अगाडि बढाएको छ । सुरुमा उनलाई नेवा समुदायको भाषा, खाना, संस्कृतिमाथि व्यंग्य गरेको आरोप लागेको थियो ।

यो विषयमा उनले आफ्नो फेसबुकमार्फत माफी समेत मागिसकेका छन् ।