विराटनगर । विराटनगरमा घरको फ्ल्याट नै भाडामा लिएर विभिन्न अनलाइन ब्याटिङ साइटमार्फत सट्टेबाजीको कारोबार र अनलाइन ठगीको धन्दा चलाउने एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङकाअनुसार अनलाइन गेम खेलाएर सट्टेबाजीको कारोबार गर्ने र ठूलो रकमको चिट्ठा पर्यो भन्दै सर्वसाधारणमाथि अनलाइनमार्फत ठगी गर्ने गिरोहका पाँचजनालाई बुधबार दिउँसो पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–११ का २२ वर्षीय शिवशंकर यादव, राजगढ गाउँपालिका–३ का २० वर्षीय दीपक मण्डल, मोरङको जहदा गाउँपालिका–१ का २५ वर्षीय रन्जितकुमार यादव, विराटनगर महानगरपालिका–१६ का ३० वर्षीय जनार्दन यादव र २६ वर्षीय सिकिन्दर यादव रहेका छन्।
उनीहरूले अवैध हुण्डी कारोबारको धन्दा पनि चलाइरहेको हुनसक्ने प्रहरीको अनुमान छ।
विराटनगर १५ स्थित सोहिता कर्णको घरको दोस्रो तलामा ४ वटा कोठा रहेको फ्ल्याट भाडमा लिएर अवैध धन्दा चलाइरहेको पाइएको मोरङ प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले पक्राउ परेकाहरू बस्दै आएको कोठामा खानतलासी गरेर विभिन्न बैंकका एटीएम कार्ड, चेकबुक, नेपाली तथा भारतीय सिमकार्ड, भारतीय आधार कार्ड तथा नेपाली र भारतीय नम्बर प्लेटका मोटरसाइकललगायत बरामद गरेको छ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।