काठमाडौं । सहकारी संस्थाहरुमा ‘कोप कार्ड’ सेवाको शुभारम्भ गरिएको छ ।
विगत २० वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई एटीम कार्ड सेवा उपलब्ध गराउँदै आइरहेको एससीटीसँगको सहकार्यमा सहकारीहरुको लागि एटिएम मेसिनमा प्रयोग गर्ने सहकारी संस्थाहरुको पहिचान सहितको कोप कार्ड सेवाको शुभारम्भ गरेको हो ।
इटहरीस्थित महिला बचत सहकारी र ललितपुरस्थित हाम्रो बचत तथा ऋण सहकारी संस्थाबाट कोप कार्डको सेवा सुरु भएको छ । महिला बचत सहकारी कोप कार्ड प्रयोग गर्ने पहिलो दुई सहकारीमध्ये परेको छ ।
यो कार्डको मद्धतबाट सदस्यहरुले एटीएममार्फत रकम निकाल्न सक्नेछन् भने, पीओएसको माध्यमबाट कुनै पनि सेवा वा वस्तु खरिद गर्न सक्नेछन् ।
राष्ट्रिय सहकारी बैंक लिमिटेड र ग्लोबल आईएमई बैंक लिमिटेडबीचको सहकार्यमा राष्ट्रिय सहकारी बैंक लिमिटेडको २०औँ स्थापना दिवसको अवसर पारेर एससीटीले सहकारीहरुमा यो सेवाको शुभारम्भ गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले कोप कार्डको शुभारम्भ गरेकी हुन् ।
सहकारीको भूमिका र कारोवारलाई मध्यनजर गरी सहकारीहरुले पनि न्यूनतम लागतमा सहजै एटीएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रक्रिया मिलाइएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि एससीटीले १०० भन्दा बढी सहकारीहरुलाई कार्ड सेवा उपलब्ध गराइसकेको छ । सेवालाई थप प्रभावकारी बनाउन र सहकारीका सबै सदस्यलाई सेवा पुर्याउन राष्ट्रिय सहकारी बैंक लिमिटेडको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीहरुलाई एउटै ब्राण्डको कोप कार्ड जारी गरी सञ्चालनमा ल्याइएको हो ।
कम्पनीले उपलब्ध गराउने कार्ड अन्तर्राष्ट्रिय स्तरको चिप कार्ड र कन्टाक्टलेश प्रविधिमा आधारित हुने र नेपाल तथा भारतका एटीएमरपोस जुनसुकै स्थानबाट सहजै चलाउन सकिने छ । यस कोप कार्ड ग्लोबल आईएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंकमार्फत् सहकारीहरुले जारी गर्नेछन् ।
यस सहकार्य पश्चात सम्पूर्ण सहकारीहरुले सजिलै राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पर्क गरी कोप कार्ड जारी गर्न सक्नेछन् ।