ओलम्पिक, एसीयाली र सागमा पदक जित्ने खेलाडीले सरकारबाट कति पैसा पाउँछन् ?

न्युजलय ७ साउन २०७९, शनिवार ०२:२८ मा प्रकाशित

काठमाडौं । खेलकुदहरुको महाकुम्भ ओलम्पिकमा पदक जित्ने खेलाडीले ओलम्पिकबाट त मेडल र पैसा पाउँछन् नै, नेपाल सरकारले पनि नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगिता जित्यो भने पैसा दिने गरेको छ । त्यसमाथि हालै सरकारले यस्तो पदक जित्ने खेलाडीलाई दिने पैसा बढाएको छ । 

युवा तथा खेलकुद मन्त्रालयले खेलाडी पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गर्ने प्रस्तावमा विहीबार मन्त्रिपरिषद्को बैठकले सैद्धान्तिक सहमती दिएसँगै कार्यान्वयनमा आउने भएको हो । पुरस्कार कार्यविधि खेलकुद नियमावलीमै गाभेर लागू गर्न लागिएको छ ।

नयाँ व्यवस्थाअनुसार ओलम्पिक खेलकुदअन्तर्गत ग्रिष्मकालीन, शीतकालीन र पारा ओलम्पिक सँगै फिफा विश्वकप फुटबलमा स्वर्ण पदक जित्ने खेलाडीले एकल खेलतर्फ १ करोड ३० लाख र सामूहिक खेलतर्फ जनही ५२ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । 

रजत जितेमा एकलतर्फ ९७ लाख र सामुहिक खेलतर्फ जनही ४५ लाख तथा कांस्य जितेमा एकलतर्फ ६५ लाख र सामूहिकतर्फ जनही २६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

त्यस्तै स्वर्ण विजेता खेलाडी तथा टिमको प्रमुख प्रशिक्षकले १३ लाख, रजत विजेताले ७ लाख ८० हजार र कांस्य विजेताले ५ लाख ८५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

स्वर्ण विजेता खेलाडी तथा टिमको सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले पनि ३ लाखदेखि साढे ६ लाख रुपैयासम्म पाउने नियम छ । यी रकमहरु २०७२ सालमा बनाइएको कार्यविधिको भन्दा ३० प्रतिशतले बढी हो । 

यस्तै एसियाली खेलकुदमा स्वर्ण जित्ने खेलाडीले एकल खेलतर्फ ३२ लाख ५० हजार र सामुहिक खेलतर्फ १३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । रजत विजेताले एकल खेलतर्फ १९ लाख ५० हजार तथा सामुहिक खेलतर्फ ६ लाख ५० हजार र कांस्य विजेताले एकलतर्फ १३ लाख र सामूहिक खेलतर्फ ३ लाख ९० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

दक्षिण एसियाली खेलकुद (साग)तर्फ स्वर्ण विजेता खेलाडीले एकल खेलतर्फ ११ लाख ७० हजार, सामूहिक खेलतर्फ ७ लाख ८० हजार रुपैयाँ पाउनेछन् । अघिल्लो व्यवस्थाअनुसार सागमा स्वर्ण जित्नेले एकलतर्फ ९ लाख र सामुहिकतर्फ ६ लाख पाउँदै आएका थिए ।

रजत विजेता खेलाडीले एकलतर्फ ७ लाख ८० हजार र सामुहिकतर्फ ५ लाख २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । कांस्य जित्नेले एकलतर्फ ३ लाख ९० हजार र सामुहिकतर्फ २ लाख ६० हजार रुपैयाँ पुरस्कार पाउँछन् ।

आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीले १ लाख र अन्तर्राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीले २ लाख रुपैयाँ प्रोत्साहन पुरस्कार पाउने व्यवस्था कार्यविधिमा गरिएको छ ।