मोटरसाइकल दुर्घटना हुँदा एक बालकको मृत्यु

न्युजलय १९ चैत २०८०, सोमबार १२:४१ मा प्रकाशित

झापा । झापाको कनकाई नगरपालिका–८ बिरिङपुलमा मोटरसाइकल दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।

लक्ष्मीपुरबाट सुरुङ्गातर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ५७७० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकलमा सवार ८ वर्षीय प्रशान्त भण्डारीको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–९ का ३८ वर्षीय गोपाल महत, मोटरसाइकलमा पछाडि सवार कमल गाँउपालिका–३ की २७ वर्षीया पूर्णिमा भण्डारी, छोराहरू ८ वर्षीय प्रशान्त भण्डारी र ८ महिनाको प्रशान भण्डारी घाइते भएका थिए ।

दुर्घटनामा परी घाइते भएका ८ वर्षीय प्रशान्त भण्डारीको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।