वीरगञ्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–९ छातापिपरास्थित त्रिवेणी स्पिनिङ उद्योगमा मजदुर र प्रहरीबीच झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले १ राउण्ड गोली र ३४ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ ।
झडपमा परी नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिना, प्रहरी निरीक्षक राजकिशोर साह तेलीलगायत १० जना प्रहरी कर्मचारी घाइते भएका छन् ।
उनीहरुको सिमरास्थित अल्पाइन अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जको गण्डक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।
प्रहरीले त्रिवेणी स्पिनिङका प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक, प्रशासन अधिकृतलगायत ५ जनालाई उद्धार गरेको प्रहरीले जनाएको छ । झडपमा संलग्न रहेको आरोपमा ७ जना मजदुर पक्राउ परेका छन् । झडप र प्रहरीको कारबाहीमा कति मजदुर घाइते भए भन्ने प्रहरीले खुलाएको छैन ।
उद्योगमा दशैं तिहारको बोनस नदिएको विषयलाई लिएर कामदार कर्मचारी र व्यवस्थापन पक्षबीच दुरी बढेको थियो । बिहीबार सोही विषयमा कर्मचारी र व्यवस्थापनबीच छलफल भएको थियो ।
झडप हुन सक्ने भन्दै उद्योग परिसरमा बाक्लो संख्यामा प्रहरी परिचालन भएका थिए । दिउँसो साढे ३ बजे वार्तामा कुरा नमिलेपछि स्थिति तनावपूर्ण बनेको हो ।