नगरवासीमा आशा जगाउँदै इटहरी अस्पताल

न्युजलय २२ पुस २०८०, आइतबार ०७:४६ मा प्रकाशित

इटहरी । आफ्नो परिवारका बिरामी जचाउन कुन क्लिनिकमा जाने भन्ने पिरलो नगरवासीलाई पहिल्यैदेखि थियो । १० वटा क्लिनिक चहारेर विशेषज्ञ डाक्टर आउने दिन पत्ता लगायो अनि लाइन बसेर जँचायो । उनीहरुले पनि कतिले विराटनगरको आफ्नो क्लिनिकमा बोलाउँथे त कतिले धरान ।

त्यसपछि बिरामी बोकेर लिएर धरान विराटनगरको यात्रा सुरु हुन्थ्यो । 

इटहरीबासीको यो बाध्यता क्रमशः हट्दै गएको छ । पछिल्लो एक वर्षदेखि इटहरी अस्पतालमा नियमित रुपमा विशेषज्ञ डाक्टरहरु राखेर सेवा दिन सुरु गरेपछि इटहरीबासीलाई थोरै भएपनि राहत महसुस भएको छ । 

अहिले इटहरी अस्पतालमा अहिले दैनिक रुपमा हाडजोर्नी, महिला तथा स्त्रि रोग विशेषज्ञ र बाल रोग विशेषज्ञले दैनिक स्वास्थ्य जाँच सेवा दिइरहेको अस्पतालका मे.सु गुन्जन त्रितालले जानकारी दिएका छन् ।

‘हाडजोर्नी विशेषज्ञ डाक्टरले विहान १० बजे देखि ४ बजे सम्म, महिला तथा स्त्रि रोग विशेषज्ञ २ जना महिला डाक्टर हुनुहुन्छ, एकजना विहान १० देखि २ बजे सम्म र अर्को डाक्टर चाँही १० देखि ४ बजे सम्म नै बसेर सेवा दिनुहुन्छ,’ मे.सु त्रितालले भने ‘अर्को बाल रोग विशेषज्ञ डाक्टरले पनि विहान १० देखि ४ बजे सम्म नै सेवा दिनुहुन्छ । त्यसपछि अरु एमविविएस डाक्टरहरुले अन्य प्रकारका बिरामीलाई चेकजाँच गर्नुहुन्छ ।’

योसँगै इटहरी अस्पतालमा मुटु रोग विशेषज्ञ, मृगौला रोग विशेषज्ञ डाक्टर ल्याएर सेवा विस्तार गर्ने योजना रहेको मे.सु त्रितालले जानकारी दिए । 

‘मुटु र मृगौला रोग विशेषज्ञ डाक्टरहरुलाई पनि ल्याएर सेवा विस्तार गर्ने तयारी भईरहेको छ, पार्किङ एरियाको ठाउँलाई व्यवस्थापन गरि कोठा मिलाउने काम भएपछि सेवा सुरु गर्ने तयारी गर्दैछौँ,’ मे.सु त्रितालले जानकारी दिए । 

इटहरी अस्पतालमा विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य चेकजाँच गर्न थालेपछि इटहरी अस्पतालमा उपचारका लागि आउने बिरामीहरुको चाप बढेको छ । क्लिनिकमा महँगो शुल्क तिरेर उपचार गराउन बाध्य नगरवासीहरुलाई न्युनतम शुल्कमा उपचारको सुविधा मिलेको छ । ज्वरो आउने, रुघाखोकी, पखला लाग्ने, पेट दुख्ने, ढाड दुख्ने जस्ता सामान्य प्रकृतिका स्वास्थ्य सेवा लिन पनि बजारका नीजि क्लिनिकहरुमा जानुपर्ने बाध्यता अहिले अन्त्य भएको छ ।


ल्याब परिक्षणमा उस्तै छ भिड 

इटहरी अस्पतालमा रगत, पिसाब, एक्स रे, भिडियो एक्स रे गराउने, सुगर जाँच, भिटामिन डि, थाईराईड लगायत चेकजाँच गर्न इटहरी अस्पताल पुग्ने गरेका छन् । 

सुगर प्रेसका बिरामीलाई इटहरी अस्पतालको रगत जाँच सेवाले सहज बनाईदिएको छ । सुगरका बिरामीहरु नियमित गर्नुपर्ने रगत जाँचका लागि इटहरी अस्पतालको ल्याबमा पुग्ने गरेका छन् । इटहरी प्रशासनले दिएको जानकारी अनुसार चालु आर्थिक बर्षको मंसिर सम्मको तथ्यांक अनुसार १२, हजार ७६९ जनाले सुगर जाँच गराएका छन् । 

५ हजार ६८९ जनाले थाईराईड जाँच गराएका छन् भने २ हजार ८६१ जनाले भिटामिन डिको जाँच गराएका छन् । 

विशेष गरी सुगर प्रेसर भएका जेष्ठ नागरिकहरु सहज सेवाका लागि जाँचका लागि इटहरी अस्पताल जाने गरेका छन् । 

इटहरी ९ का लालु बस्नेतले नियमित रुपमा रगत जाँच गर्नका लागि आउने गरेको बताए । पहिलो बजारको क्लिनिकमा जाने गरेकोमा अहिले इटहरी अस्पतालमा नै सजिलो भएकाले इटहरी अस्पताल नै आउने गरेको बताए । 

वीमाका कारण पनि धेरै व्यक्तिहरु स्वास्थ्य परिक्षणका लागि आउने गरेको इटहरी अस्पतालकी प्रशासन शाखाकी पूजा भट्टराईले जानकारी दिईन् । 

‘बीमा बाट हुने भएकाले धेरै व्यक्तिहरु २-३ महिनामा बिरामी नभए पनि विभिन्न स्वास्थ्य परिक्षणका लागि आउने गर्नुभएको छ, अरु नियमित स्वास्थ्य समस्या लिएर आउने बिरामीको संख्या त अझ धेरै छ,’ भट्टराईले बताईन् । 

बिरामीहरुको चाप बढेसँगै इटहरी अस्पतालले टोकन सिस्टम लगाएको छ । पूजा लिनका लागि टोकन सिस्टम लगाईएको छ । टोकनका आधारमा पूर्जा बनाउने र सोही आधारमा ओपिडीमा डाक्टरसँग भेट गर्ने व्यवस्था मिलाईएको छ । 

टोकन लिएका बिरामीलाई बस्नका लागि कुर्सीको व्यवस्थापन गरिएको अस्पतालकी प्रशासन शाखाकी पूजा भट्टराईले जानकारी दिईन् । 

कुनै पनि बिरामी इटहरी अस्पताल आईसके पछि चेकजाँच, स्वास्थ्य परिक्षणका लागि कुनै अप्ठ्यारो तथा झन्झट व्यवहोर्नु नपर्ने उनले बताईन् । कुनै बिरामीलाई केही समस्या भए सुरक्षामा खटिएका सुरक्षा गार्डहरुको पनि सहजिकरण गरिदिने गरेको उनले सुनाईन् । 

स्वास्थ्य उपचारसँगै बिरामीले डाक्टरले लेखिदिए अनुसारका औषधीहरु पनि सहज रुपमा उपलब्ध गराउने गरेको अस्पतालले दाबी गरेको छ । विशेष गरी वीमा वापत प्राप्त गर्ने सुविधाका औषधीहरु सहज रुपमा वितरण गर्ने गरेको अस्पतालको भनाईं छ । औषधी वितरणमा कुनै समस्या नभएको अस्पताल प्रशासनले दावी गरेको छ । 


२४ घण्टा इमरजेन्सी 

इटहरी अस्पतालले पछिल्लो एक बर्ष देखि २४ सै घण्टा इमजेन्सी सेवा दिईरहेको छ । इमरजेन्सीमा ५ बेड मार्फत सेवा दिईरहेको अस्पताले जनाएको छ । एमविविएस डाक्टरको नेतृत्वमा इमरजेन्सी सेवा प्रदान गरिरहेको अस्पतालको भनाई छ । 

इमरजेन्सीमा आएका बिरामीहरुलाई थप उपचार गर्नुपर्ने अवस्था आए वा ओपीडीमा आएका बिरामीलाई थप उपचार गर्नुपर्ने भएमा जनरल वार्डको व्यवस्था गरिएको छ । १५ वटा वेडमा बिरामीलाई राखेर उपचार गर्दै आएको अस्पतालले जनाएको छ । आवश्यक सेवा सुविधा सहितको जनरल वेड मार्फत बिरामीको उपचार गर्दै आएको अस्पतालको भनाई छ । 


नयाँ भवनमा थप सेवा विस्तार गरिने 


इटहरी अस्पतालको हालको भवनबाट थप सेवा विस्तारका लागि समस्या भईरहेको अस्पतालका मे.सु त्रितालले बताए । 

‘हामीसँग भवन र कोठाको अभाव छ, चाहेर पनि थप सेवा विस्तार गर्न सकिरहेको छैन,’ मे.सु त्रितालले भने, ‘अब थप सेवा विस्तारका लागि नयाँ भवन बनेर सञ्चालनमा आएपछि मात्रै थप सेवा विस्तार गर्न सकिने अवस्था छ ।’

संघिय सरकारले दिएको बजेटबाट अस्पताल परिसरमै १५ वेडको नगर अस्पतालको भवन निर्माणधिन छ । समयमै सकिनुपर्ने भवन निर्माणमा ढिलाई हुँदा अस्पतालको सेवा विस्तारमा समस्या देखिएको छ । 

तर इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले अस्पतालको बन्दै गरेको भवन चाँडै सक्ने गरी काम भईरहेको बताउँछन् । अस्पतालको सेवालाई विस्तार गर्न तयारी भईरहेको मेयर पौडेलले बताए । इटहरी अस्पतालको स्तर उन्नतिका लागि सिटिस्कान र एमआरआई मेसिन थप गर्ने तयारी भईरहेको मेयर पौडेलले बताए । त्योसँगै केही समय अघि रोटरी क्लबले दिएको डाईलासिस मेसिनलाई सञ्चालनमा ल्याउने तयारी भईरहेको पनि मेयर पौडेलले जानकारी दिए । 

हिजो राजनितिक र प्रशासनिक रुपमा ओझेलमा परेको इटहरी अस्पतालमा अहिले स्थानिय सरकारले गरेको लगानीको केही प्रतिफल देखा पर्न थालेको छ । तर दिर्घकालिन रुपमा यहि रुपले अगाडि बढाउन भने अझै ठुलो आर्थिक स्रोतको आवश्यकता पर्छ । 

सुविधा सम्पन्न अस्पताल सञ्चालनका लागि स्थानिय सरकारले दिर्घकालिन आर्थिक स्रोतको व्यवस्थापन गर्नुपर्ने चुनौति देखिन्छ । प्रदेश र संघिय सरकारसँग समन्वय गर्दै अस्पतालका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार, दरबन्दी सहितको दक्ष जनशक्ति, र औजार उपकरणको व्यवस्थापन गर्नु अहिलको मुख्य चुनौति देखिएकोछ । यसका लागि स्थानिय सरकारले वुद्धिमत्तापूर्ण निर्णयको खाँचो छ ।