संखुवासभा । संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएको छ ।
गत साउन १७ गते राति बिहीबारदेखि चिचिला र सभापोखरी गाउँपालिको सीमावर्ती क्षेत्र बर्खेडाँडामा रहेको टावरमा विद्युत् आपूर्ति बन्द भएपछि उत्तरी क्षेत्र भोटखोलामा टेलिफोन अवरुद्ध भएको थियो ।
चिचिला र सभापोखरी सीमावर्ती क्षेत्र बर्खेडाँडामा मर्मत र नियमित विद्युत् आपूर्ति भएपछि चार दिनपछि दुर्गम उत्तरी क्षेत्र भोटखोलामा टेलिफोन सेवा सञ्चालन भएको दूरसञ्चार कार्यालय खाँदबारीले जनाएको छ ।
विद्युत् आपूर्ति बन्द हुँदा उत्तरी क्षेत्रका बर्खेडाँडा, भाटभटेनीडाँडा र लच्चीडाँडालगायतका टावर बन्द भएको बताइएको छ ।
चट्याङका कारण ब्याट्री व्याकअप, उपकरण र टावरका सामग्री पड्कँदा बेलाबेला उत्तरी क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध हुने गरेको छ । अवरुद्ध टेलिफोन सेवा सञ्चालन भएपछि भोटखोला–२ र ३ का हटिया, च्याम्ताङ, चेपुवा, लिङगम, छुम्सुर, रिदाकलगायत गाउँका बासिन्दा लाभान्वित भएका छन् ।