करुणा फाउन्डेसनले कृत्रिम हात जडान गरिदिने

सरिता कोइराला १५ कार्तिक २०८२, शुक्रबार ०६:५२ मा प्रकाशित

इटहरी । करुणा फाउन्डेसन नेपालले जर्मन ह्यान्ड्स प्रोजेक्टको सहकार्यमा कोशी प्रदेशका २०४ जनालाई निःशुल्क कृत्रिम हात वितरण गर्ने तयारी गरेको छ।


कात्तिक १७ देखि २६ गतेसम्म इटहरीमा सञ्चालन हुने  शिविरमा दुर्घटना, करेन्ट वा अन्य कारणले हात गुमाएका व्यक्तिहरूलाई कृत्रिम हात जडान गर्न लागेको फाउन्डेसनले जनाएको छ।


देशभरबाट ४२८ जना व्यक्तिले कृत्रिम हातको आवश्यकता रहेको निवेदन दिएका थिए। पहिलो चरणमा कोशी प्रदेशका लाभग्राहीहरूलाई प्राथमिकता दिइएको हो ।


फाउन्डेसनका अनुसार कृत्रिम हात जडानका लागि जर्मनी, न्युजिल्यान्ड र युगान्डाका विज्ञहरू सम्मिलित प्राविधिक टोली चाँडै नेपाल आउने तयारीमा छ। वितरण गरिने हातहरू हल्का, सहज प्रयोग गर्न मिल्ने र देख्नमा प्राकृतिक हुने फाउन्डेसनले जनाएको छ।


यस अभियानले हात गुमाएकाहरूको दैनिक जीवन, आत्मविश्वास र रोजगारीमा परेको असर कम गर्न सहयोग गर्ने उद्देश्य लिएको छ। कृत्रिम हात जडानपछि लाभग्राहीहरूले खाना पकाउने, लेख्ने, वस्तु समात्ने, कपडा लगाउने, खेतीपाती र विभिन्न व्यावसायिक काम पुनः गर्न सक्नेछन्।


शिविरमा भोजपुरका १०, इलामका ३, झापाका ६१, खोटाङका २५, मोरङका १४, ओखलढुंगाका १९, पाँचथरका २२, सोलुखुम्बुका ८, सुनसरीका ८, तेह्रथुमका २ र उदयपुरका २५ जनालाई कृत्रिम हात जडान गरिने कार्यक्रम आयोजकले जनाएको छ।