काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले सरकारसमक्ष राखेका माग सम्बोधन नभएको भन्दै साउन ७ गतेदेखि पुनः सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्।
दार्चुला पुगेर डा. केसीले आफ्ना मागप्रति सरकारले बेवास्ता गरेको आरोप लगाउँदै सत्याग्रहमा बस्ने घोषणा गरेका हुन्। यसअघि उनले साउन ५ गतेसम्म माग सम्बोधन गर्न सरकारलाई समयसीमा दिएका थिए।
विज्ञप्ति जारी गर्दै डा. केसीले बारम्बारको आग्रह र चेतावनीका बाबजुद नियम, मूल्य–मान्यता र पारदर्शितालाई बेवास्ता गर्दै स्वार्थको द्वन्द्व भएका, अयोग्य तथा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने उद्देश्य भएका व्यक्तिहरूलाई नियामक निकाय र विश्वविद्यालयको जिम्मेवारी दिइएको आरोप लगाएका छन्।